गृहमन्त्रीले भने- भोटेकोशी नदीमा गएको बाढीले क्षति भएका संरचनाको छिटै पुनर्निर्माण हुन्छ
काठमाडौं । गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण क्षति भएका संरचनाको छिटै पुनर्निर्माण सुरु गरिने बताएका छन्।
आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा मन्त्री लेखकले अहिले सम्पूर्ण ध्यान बेपत्ता भएकाहरूको खोजीकार्यमा केन्द्रित रहेको भन्दै अव छिटै पुनर्निर्माण सुरु गरिने जानकारी दिएका हुन्। १० दिनसम्म खोज र उद्धारको कार्यका साथै राहत वितरण हुने र त्यसपछि पुनर्निर्माण र पुनर्स्थापनाको काममा ध्यान दिने उनले बताए।
गृहमन्त्री लेखकले बाढीमा परेर मृत्यु भएकाहरूका परिवारलाई र कानुनी व्यवस्थाअनुसार राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताए। २० जना व्यक्ति नेपालबाट बेपत्ता भएको अवस्था देखिएको र ११ जना चीनको भूभागबाट बेपत्ता भएको खबर आएको उनले बताए।
गृहमन्त्री लेखकले विपद् प्राधिकरणले पूर्वविपद् सूचना प्रभावकारी बनाएको र विपद् जोखिम न्यूनीकरणका लागि सरकार सबै किसिमले तयारी अवस्थामा रहेको जानकारी दिए।
Facebook Comment