जनै हराएको मान्छेः सम्बन्धका धागाहरुबारे के भन्छन् मनिष
काठमाडौं । फिल्म ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’ भदौ ६ गतेबाट रिलिज हुँदैछ । विजय बराल मुख्य भूमिकामा रहेको फिल्मको एसोसिएट डिरेक्टरमा मनिष राउत छन् ।
मनिष ‘प्रेमगीत ३’का अभिनेता हुन् । मनिष ‘प्रेमगीत ३’मा प्रदीप खड्कापछि मुख्य भूमिकामा थिए । मनिषले फिल्म पढेका छन् ।
‘निर्देशन पनि क्रिएटिभ काम नै हो । अभिनय त गरेँ, अब निर्देशनको काममा पनि विस्तारै अनुभव संगाल्दै जाउँ भन्ने हो । अभिनय र निर्देशन सँगैसँगै अगाडि बढाउँदा थप सहज हुन्छ कि भन्ने मेरो सोच हो,’ मनिष भन्छन्, ‘म पूरै निर्देशक त होइन । तर, निर्देशकको कामको पनि अनुभव गरेको खण्डमा अभिनयलाई पनि सहयोग हुन्छ भन्ने लाग्छ ।’
मन मिल्ने टिम र राम्रो कथा भएकाले मेहनत गरेर काम गरौँ भन्ने उद्देश्यले ‘जनै हराएको मान्छेः सम्बन्धका धागाहरू’मा फरक डिपार्टमेन्टमा काम गरेको उनले प्रष्ट पारे ।
हरेक अभिनेताको चाह निर्देशन पनि हुने गरेको दृष्टान्त दिँदै उनी अभिनय र निर्देशनलाई सकेसम्म सँगै अगाडि बढाउन चाहेको बताए । आगामी दिनमा आफूलाई दर्शकले अभिनयमा देख्नसक्ने उनले जानकारी दिए ।
भदौ ६ गते रिलिज हुने ‘जनै हराएको मान्छे स् सम्बन्धका धागाहरू’ अहिले पोस्टप्रोडक्सनमा छ । फिल्ममा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।
पेपरक्लिपको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।
गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ ।
Facebook Comment