बारामा हात्तीको आक्रमण : ट्रक चालकको घटनास्थलमै मृत्यु
काठमाडौं । बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट नजिक आइतबार बिहान भएको घटनामा ट्रक चालकले ज्यान गुमाएका हुन् ।
ना.४ ख १८३० नम्बरको ट्रक चलाइरहेका जितपुरसिमरा–१ निवासी अन्दाजी ४० वर्षीय राजकुमार चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार चौधरीले ट्रक रोकेर जंगलतर्फ भाग्ने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका थिए । जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालका अनुसार, हात्तीले राजमार्गदेखि करिब सय मिटर दक्षिणतर्फ चौधरीमाथि आक्रमण गरेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीले ट्रकसहित अन्य सवारीसाधनमा समेत क्षति पुर्याएको र केही समयका लागि राजमार्ग नै अवरुद्ध भएको प्रत्यक्षदर्शीले बताएका छन् । अचानक सडकमा निस्किएको हात्तीले आक्रमण गरेपछि यात्रु र चालकहरू आत्तिँदै भागेका थिए ।



Facebook Comment