महाधिवेशन सम्मुख अञ्जना अधिकारीलाई १० प्रश्न

नेकपा एमाले ११ महाधिवेशनको सम्मुखमा छ । मंसिर २७ गते शनिबार भव्यताका साथ भक्तपुरको सल्लाहघारीमा महाधिवेशनको उद्घाटन हुँदैछ । देशभरका महाधिवेशन प्रतिनिधि काठमाडौं आउनेक्रम जारी छ । महाधिवेशनबाट नेतृत्वमा अनुमोदन हुने गरी तयारी पनि चलिरहेको छ ।

जेन-जी आन्दोलनपछि एमालेको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ कारण, जेन-जीको आवाज अब एमालेले कसरी सम्बोधन गर्छ भन्ने पनि आम चासोको विषय छ । यही विषय चर्चामा रहँदा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै नेतृत्वमा दोहोर्‍याउने सत्तापन पक्षले बताइरहँदा इत्तरपक्षले आफ्नो समूहगत भेला पनि गरिरहेको छ ।

यी नै सेरोफेरोमा रहेर यूवा संघको पूर्वउपाध्यक्षका रुपमा काम गरिसकेकी, जेन-जी आन्दोलनपछि सामाजिक सञ्जालको निशानामा परेको एमालेलाई सञ्जालबाटै रक्षा गर्न खटिएकि, अनि अध्यक्ष केपी शर्मा ओली निकटकि नेतृ अञ्जना अधिकारीलाई महाधिवेशन लक्षित १० प्रश्न गरेका छौँ । हेरौँ कुराकानीको सम्पादित अंश:

महाधिवेशनबाट आउने नेतृत्व जेन-जीको माग बमोजिम कि अहिलेकै निरन्तरता ?

नेकपा एमाले नीति, विधि, थिति र अनुशासन भएको पार्टी हो । स्थानीयदेखि केन्द्रसम्म यसको आआफ्नै तहका नेता कार्यकर्ता छन् । अहिलेको अवस्थामा संगठन मजबुद भएको नेपालको एकमात्र पार्टी हो भन्दा पनि फरक नपर्ला । यस्तो अवस्थामा हामी आइपुग्न श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको महत्वपूर्ण हात छ । उहाँकै भिजन अनुसार हामी अघि बढेका छौँ । यसपटक उहाँकै नेतृत्व परिस्कृत रुपमा आउँछ ।

अर्को कुरा पार्टी प्रति आम नागरिकको सुभेच्छा हुन्छ । एमालेमा त्यो सबैभन्दा धेरै छ तर, पार्टी नेतृत्व पार्टीका कार्यकर्ताले छान्ने हो । सबै ठाउँबाट प्रतिनिधि चयन भएर आउनुभएको छ । उहाँहरूले नै नयाँ नेतृत्व छान्नुहुनेछ । जेन-जीको माग भनेर जे भन्न खोजिएको छ त्यो एमालेले युवा भन्ने एक क्लस्टर तयार पारेर प्रतिनिधि ल्याएको भएकाले सम्बोधन भयो भन्ने मलाई लाग्छ ।

एमालेले जेन-जीको भावना बुझेन भन्ने आरोपलाई कसरी लिनुभएको छ ?

यो आरोपको ठाडो खण्डन गर्छु । किनकि नेपालका राजनीतिक दलमा सबैभन्दा जेन-जीका माग र आवाज समेट्नुपर्छ भन्ने पार्टी एमाले हो । मैले अघि पनि भने बोलेर होइन एमालेले व्यवहारमा उतारेर देखाएको छ । हेर्नुत महाधिवेशन प्रतिनिधि नै हामीले एक युवा अनिवार्य भनेका छौँ । आउनु पनि भएको छ ।

जेन-जीका माग अनुसार नै हाम्रो नेतृत्वको सरकारले काम गरिरहेको थियो । जो भ्रष्टाचारविरोधी आवाज लिएर आएका जेन-जीले त्यतिबेलै भनेका थिए यो आन्दोलन हाम्रो होइन । हाइज्याक भयो । तपाईंले नै देख्नुभयो नि अहिले कसरी के के गरेर कसको सरकार बन्यो । जे भए पनि एमालेको विरोधमा जेन-जी आन्दोलन होइन । त्यस्तो देखाइयो होला । तर एमाले अहिले पनि जेन-जीलाई स्वागत र सहयोग गर्ने पार्टी हो ।

पार्टीमा अध्यक्ष पक्षका मान्छे अन्धभक्त भए/अध्यक्षमा आलोचनात्मक चेत भएन भन्ने आरोप लाग्छ । तपाईं अध्यक्षको प्रिय मानिनुहुन्छ किन यस्तो भएको हो ? कसरी लिनुहुन्छ ?

यो लगाउने आरोप होला जस्तो लाग्छ । उहाँले सबैलाई सुन्नुभएको छ । सबैका कुरालाई सम्बोधन गर्नुभएको छ । कत्तिकुरा सुनेर नसुनेझै गर्नुपर्ने अवस्थाका पनि होलान् । ती कुरामा उहाँले त्यही गर्नुभएको होला । तर पनि मलाई उहाँले त्यसो गरे जस्तो लाग्दैछ । सपना देख्ने, देशलाई समृद्धिको बाटोमा अघि बढाउने र नयाँ नेपाल निर्माणको परिकल्पना गर्ने पार्टी एमाले हो । त्यसको श्रेय श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीलाई जान्छ ।

नेपाली राजनीतिज्ञमा सबैभन्दा बढी आलोचनात्मक चेत भएको नेता हाम्रै अध्यक्ष हो । अध्यक्षले गरेका कामको रक्षा गर्ने र पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने हामी एमालेजनको काम हो । त्यही अनुसार गरिरहेका छौँ ।

जेन-जी आन्दोलन र त्यसले उठाएको प्रश्न त्यत्रो मानवीय क्षतिलाई सरकारको नेतृत्वकर्ताको हिसाबले किन जिम्मेवारी नलिएको ?

यो गहकिलो प्रश्न हो । नैतिक जिम्मेवारी लिने भन्ने । गरेको कामको जिम्मेवारी त जो कोहीले लिने सजिलो विषय हो । तर गर्दै नगरेको कामको जिम्मेवारी कसरी लिने ? त्यसमा पनि ती होनाहार युवाको ज्यान गएको छ । त्यो ज्यान जाने गरी गोली चलाउने आदेश कसले दियो ? सुरक्षा निकायले प्रधानमन्त्रीलाई खबर गर्नुपर्दैन ? नेपालका विभिन्न गुप्तचर विभागसहित सुरक्षा निकाय भनेको राज्यले पैसा दिएर खोजविन गर्न राखेको होइन् ? यस्तो हुँदैछ भनेर प्रधानमन्त्रीलाई किन खबर गरिएन ? कि गुमराहमा राखियो ? यी प्रश्नको उत्तर खोज्न आवश्यक छ ।
अर्को कुरा नेपालमा भएको यो आन्दोलन जेन-जीको मात्र हात छैन । यहाँ कहाँबाट के भएको छ भन्नेकुरा क्रमश: खुल्दै जाला ।

त्यो बेला केपी शर्मा ओली एमालेको अध्यक्षमात्र होइन् । देशको कार्यकारी सर्वोच्च व्यक्ति हुनुहुन्थ्यो । उहाँले नैतिक जिम्मेवारी भन्दै माफी माग्नुभएको थियो भने हेर्नुहोस् आज नेपाल नै हुन्थ्य्यो कि हुन्थेन । त्यता तिर सोच्न आवश्यक छ । उहाँको त्यो स्वभिमान, चट्टानी अडानले आज हामी सगौरव नेपाली भनेर सानका साथ भन्न पाएका छौँ । यो तर्फ ध्यान दिनुपर्छ । देशको प्रमुखले माफी मागेको भए नेपालमा यतिबेला विदेशीको हालीमुहाली हुने चाहिँ पक्का हो ।

जे होस् तपाईंलगायतका युवा अध्यक्षको बच्चामा झोले भएरै लाग्नुभएको छ ।

हा हा हा….यो हामीमाथि लगाएको आरोपलाई हामीले ट्रेन्ड नै बनायौँ । देशको रक्षा, मातृभूमिको रक्षा, स्वभिमानको रक्षाका लागि चट्टान बनेका ओली एमाले होइन नेपालको सम्पत्ति हो । यो सम्पत्ति रक्षा गर्नु हामी सबैको दायित्व हो । यसरी बुझ्न जरुरी छ।

यत्रो आलोचनाकाबीच तपाईंलाई एमाले हुँ भन्दा गरेका काम र भएका टिप्पणीले कहीँ कतै गिज्याउँदैन ?

म जन्मनुभन्दा अघि नै एमाले हो । म अञ्जना नभइ अरुण वा अरु केही भएको भए पनि म एमाले नै हो । किन भने मेरो पिताजीले नै मलाई जन्मिएपछि राजनीतिमा लगाउने भन्नुभएको थियो । मेरो पारिवारिक वातावरण पनि त्यसैगरी अघि बढ्यो । नीति, सिद्धान्त, अनुसासन, कार्यगतशैलीलगायतले एमाले मेरो प्रिय पार्टी बन्यो ।

अहिले पनि गाउँगाउँमा गएर तपाईंले हेर्नुभयो भने एमालेले सुरुवात गरेका काम नै प्रिय बनेका छन् । एमालेका नेता प्रिय छन् । केही टिक्का टिप्पणीलाई अन्यथा लिनु हुँदैन ।

महाधिवेशनको सम्मुखमा छौँ । तपाईं कहाँ के को आकांक्षी ?

मेरो लागि महत्वपूर्ण प्रश्न यही हो । म मेरा श्रद्धेय अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेर केन्द्रीय कमिटीमा काम गर्ने मेरो इच्छा हो । यसका लागि म योग्य छु । तयार छु । पार्टीको काम र पार्टीले दिने जिम्मेवारी पूरा गर्ने क्षमताको विकास गरेकी छु । अहिले हामी जस्ता युवा पार्टीमा अत्यावश्यक छ । त्यो आवश्यकता म पूर्ति गर्नसक्छु ।

केन्द्रीय कमिटीमा आउन तपाईंका योगदान र भूमिकाका कुरा आउलान् । महाधिवेशन प्रतिनिधिले तपाईंलाई किन छान्ने ?

धेरै छैन । यहाँ मैले गरेका काममात्र हेरे पुग्छु । म युवा संघको केन्द्रीय कमिटीमा आउँदा सबैभन्दा कम उमेरकी केन्द्रीय सदस्यको पहिचान बनाएको थिएँ ।

बढ्दो राजनीतिक विकर्षणका बेला मैले युवालाई कसरी तान्नसक्छु भन्ने मेरो बोल्ने कलालाई चिन्नेले थाहा पाउनुहुन्छ ।

अर्को जेन-जी आन्दोलनपछि पार्टीमाथि भएको प्रहारलाई मैले कसरी सामाजिक सञ्जालबाटै प्रतिकार गरेको छु । त्यो हेर्नुभयो भने पनि पुग्छ । म के आशावादी छु भने मैले खेलेको भूमिका पार्टीका लागि गरेको काम आम रुपमा हाम्रा एमालेजनले बुझ्नुभएको छ । बुझ्नुहुन्छ भन्ने छ

 तपाईं र एमालेले अहिलेको उदाउँदो पुस्ता जेन-जीका माग कसरी सम्बोधन गर्छ ?

अहिलेका जेन-जी नेपालमा बसेर विश्वलाई नियालिरहेका पुस्ता हुन् । उनीहरूमा अथाह क्षमता छ । त्यो क्षमतालाई गाइड गर्ने र अभिभावकत्व जिम्मेवारी लिनुपर्ने आवश्यकता छ । त्यो भनेको अहिलेको जेन-जीको अपरिपक्वता र आधिकारिकताको विवादमा फसेका जेन-जीलाई हेरेर पनि थाहा हुन्छ । उनीहरूको जोशलाई व्यवहारमा उतार्न म र एमालेले महत्वपूर्ण भूमिका खेल्छौँ ।

एमालेले केन्द्रीय कमिटीमै धेरै युवाको उपस्थितिलाई आत्मसाथ गरेको छ । जेन-जी साथीहरूलाई पनि आफ्ना माग एमालेले नै सम्बोधन गर्छ भन्ने थाहा छ । तर उहाँहरूले परिवेश र नेपालको अवस्था अनुसारका आफ्ना माग लिएर आउनुपर्छ ।

अन्त्यमा महाधिवेशन प्रतिनिधिलाई के भन्नुहुन्छ ?
हामी ११ औँ महाधिवेशनको तयारीमा छौँ । सम्पूर्ण तयारी पूरा भएको छ । पार्टीको सचिवालले विधान महाधिवेशनले पारित गरेको विधान अनुसार महाधिवेशन अघि बढ्ने र नेतृत्व चयन गर्ने भनेको छ । के कसरी हुन्छ भन्ने कुरा सबैलाई थाहा छ ।

म यत्ति भन्छु, मंसिर २७ गते भक्तपुरको सल्लाहघारीमा भव्यताका साथ महाधिवेशनको उद्घाटन गरौँ । तपाईंहरू राम्ररी आइपुग्नुहोला । हामी स्वागत गर्न तयार भएर बसेका छौँ । देशलाई निकास र देशको विकास गर्ने पार्टी एमाले हो । अब एमालेलाई निर्णायक शक्तिमा रुपान्तरण गर्न तपाईंहाम्रो भूमिका महत्वपूर्णछ । एकताबद्ध, एक ढिक्का भएर अघि बढौँ । धन्यवाद ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *