गाउँघरका कुटानीपिसानीका साथी ‘पानीघट्टा’ लोपको संकटमा
काठमाडौं । गाउँघरमा कुटानी पिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।
ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो । गाउँघरका बासिन्दाले कुटानी पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट बताए ।
‘अहिले पानीघट्टाको चलन हराउँदै गएको छ’, उनले भने, ‘पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टा आउने गर्थे, अहिले यो पुरानो चलन लोपहुँदै गएको छ ।’ पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने टेम्केमैयुङ–५ मा पानीघट्टा सञ्चालन गर्दै आएका हरिबहादुर लम्सालले बताए ।
पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उनले बताए । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उनको भनाइ छ । ‘पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ’, उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।’ उनले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने बताए ।
स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ । प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् । परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।


Facebook Comment