दुम्कीबासको विनयी खोला पुलमा बिहीबारदेखि गाडी चल्ने

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दुम्कीबासस्थित बुटवल–नारायणगढ खण्डको विनयी खोलामा पुल निर्माणको काम सम्पन्न भएको छ ।

पुल कालोपत्रे गरिएसँगै बिहीबारबाट पुलबाट यातायात सूचारु गर्न लागिएको नारायणगढ–बुटवल सडक आयोजनाले जानकारी दिएको छ ।

यहाँ पाँच दशक पुरानो पुल भत्किएपछि यहाँ डाइभर्सन बनाएर यातायात चलाइएको थियो ।

डाइभर्सन समेत खोलामा पानीको बहाव बढ्दा बगाइरहने समस्याले यहाँ हरेक दिन जसो यातायात सञ्चालनमा सास्ती भएको थियो ।

सडक विस्तार आयोजना पूर्वीखण्डका सूचना अधिकारी शिव खनालले २४५ मिटर लामो पुल भोलि बिहान ११ बजेदेखि सञ्चालन गरिने जानकारी दिए ।

७.५ मिटर चौडाइ भएको पुलको देब्रे भागमा फुटपाथसमेत रहेको छ । यो पुल नबन्दा खोलामा डाइभर्सन बनाएर निकै जोखिमपूर्ण रुपमा सवारी साधानहरु वारपार गर्दै आएका थिए । गत पुस २६ गते एक भारतीय ट्रकले पुरानो फलामे पुल भाँचिएपछि अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो ।

बनाइएको डाइभर्सन पटकपटक खोलाले बगाउँदा पूर्व पश्चिम राजमार्ग नै अवरुद्ध हुँदै आएको थियो । घण्टौंसम्म कयौं किलोमिटर लामो सवारी जाम हुँदै आएको थियो ।

डाइभर्सनबाट जान नसक्ने साना सवारी साधनहरुले घुमाउरो सडकको प्रयोग गर्दै आएका थिए । अब पुल सञ्चालनमा आएपछि यात्रा सहज हुने सूचना अधिकारी खनालले बताए ।

दाउन्ने क्षेत्रमासमेत सडक विस्तारको लागि कामका साथसाथै र बर्खामा यातायातको सहज सञ्चालनका लागि प्रयास भैरहेको आयोजनाले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *