कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो
इनरुवा (सुनसरी) । जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् ।
धान रोप्न, काट्न, दाउनी गर्न, मकै छर्न, तरकारीखेती गर्न र मकै दाउनी गर्न यान्त्रिकरण बढ्दै गएको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए । कृषि उपकरण महँगा हुने र प्रयोग कम हुने हुँदा सरकारको अधिकतम अनुदानबिना किसानले खरिद गर्न नसक्ने स्थानीय किसान राजकिशोर मेहताले बताए ।
उपकरण प्रयोग गर्दा मजदुर खर्च ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म बच्ने र कूल लागतमा २५ देखि ३० प्रतिशत खर्च घट्ने उनको भनाइ छ । धानको बीउ राख्न सिडर, रोप्न ट्रान्सप्लान्टर, काट्न रिपर र कम्बाइन हारभेस्टर र पराल उठाउन बेलरको प्रयोग हुँदै आएको छ ।
कतिपय उपकरण गहुँ र मकैलगायतका बालीमा पनि प्रयोग हुने गरेको छ । विगतमा मधेश क्षेत्रका जिल्लामा धेरै पहिलेदेखि जोत्न ट्र्याक्टर प्रयोग हुने गरेको थियो । सबै किसानलाई उपकरणका बारेमा ज्ञान भई नसकेकाले ठूला चक्लाबन्दी फार्ममा सामूहिकरुपमा तालिम दिई यान्त्रिकरण तर्फ जोड दिँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
Facebook Comment