मिरमिरेमा प्रकाश सपुत अनुबन्धित
काठमाडौं । फिल्म ‘मिरमिरे’मा अभिनेता प्रकाश सपूत अनुबन्ध भएका छन् । अभिनेता दयाहाङ राईपछि अभिनेता प्रकाशलाई यो फिल्ममा अनुबन्धित गराएको हो ।
यही फिल्मबाट प्रकाश र दयाहाङले पहिलो पटक सहकार्य गर्ने भएका छन् । अन्य कलाकारबारे हालसम्म यो टिमले जानकारी दिएको छैन । ‘हामी कलाकारसँग सम्झौताकै क्रममा छौँ । केहीसँग कुरा भइरहेको छ,’ निर्देशक यम शेर्पाले भने, ‘हामी अहिले बजारले रुचाएका र अभिनयमा पक्कड भएका कलाकारलाई नै लिएर काम गर्नेछौँ ।’
प्रकाश यो फिल्ममा अभिनेताका रूपमा मात्रै रहनेछन् वा सांगीतिक पाटोमा पनि जोडिनेछन् भन्नेबारे पछि स्पष्ट पार्ने यमले बताए । यमले फिल्म ‘कार्साङ’ पछि ‘मिरमिरे’ निर्देशन गर्न लागेका हुन् ।
अभिनेता प्रकाश सपूतले ‘मिरमिरे’मा जोडिन पाउँदा खुशी व्यक्त गरे । आफ्नो भूमिका विशेष र महत्वपूर्ण रहेको बताउँदै उनले यस फिल्मले आफूलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरेका छन् ।
यार्सा फिल्म्सको प्रस्तुति रहने फिल्ममा यमकै कथा लेखन छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा र ईश्वर श्रेष्ठ छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।
आरआर फिल्मस्ले नै वितरण गर्ने फिल्म २०८२ मै रिलिज हुनेछ ।
Facebook Comment