कान्सबाट फर्कियो एक्लो

काठमाडौं। नेपाली फिल्म ‘एक्लो’ले यस वर्षको कान्स फिल्म फेस्टिभल २०२५ मा ऐतिहासिक उपस्थिति जनाउँदै नेपाली फिल्मको अन्तर्राष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्‍याएको छ। निर्देशक प्रदीप शाहीको निर्देशनमा बनेको यो साइ–फाइ थ्रिलर फिल्मले फ्रान्सको कान्स सहरमा आयोजित ‘मार्चे दु फिल्म’मा स्टल स्थापना गर्दै अन्तर्राष्ट्रिय वितरक, सेल्स एजेन्ट र निर्माताहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाएको छ।

स्टलमा नेपालको झण्डा समेत राखिएको थियो । कान्स फिल्म फेस्टिभल २०२५ मा अभिनेता प्रदीप खड्का र निर्देशक प्रदीप शाही रेड कार्पेटमा सहभागी भए। नेपाली फिल्मको लागि ‘कान्स फिल्म फेस्टिभल’मा ‘एक्लो’को यो उपस्थिति उल्लेखनिय छ। कान्समा नेपालमा छायांकन गर्ने उत्कृस्ट गन्तब्यहरुको प्रचार समेत गरिएको थियो।

यस बर्षको कान्समा ईरानी निर्देशक जाफर पनाहीको ‘इट ह्वाज जस्ट एन एक्सिडेन्ट’ले सर्वश्रेष्ठ फिल्मको अवार्ड जितेको छ। निर्देशक प्रदीप शाही यस वर्षको कान्स प्रोड्यूसर्स नेटवर्कका लागि पनि चयन भएका छन्, जसले उनलाई विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा स्थान समेत दिलाएको छ।

‘एक्लो’को कथा हिमालयको आध्यात्मिकता र मिथकीय पृष्ठभूमिमा आधारित छ, जसले पूर्वी दर्शन र पश्चिमी सिनेम्याटिक थ्रिलर शैलीको संयोजनमार्फत यस्तो भविष्य देखाउँछ, जहाँ मानव जाति विनाशको संघारमा उभिएको छ। फिल्ममा प्रदीप खड्का, बेनिसा हमाल, विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी, एवन राज उप्रेति, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ।

बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको पोस्ट प्रोडक्सनको कार्य लण्डनमा भई रहेको कार्यकारी निर्माता विनोद सुबेदी क्षितिजले जानकारी दिए। फिल्मको सम्पूर्ण छायांकन नेपालको अपर मुस्ताङ र काठमाडौँमा सम्पन्न भएको छ । कृष्ण पौडेल प्रोडक्सन डिजाइनर रहेको फिल्मको छिट्टै नेपाल र विदेश प्रदर्शन मिति घोषणा गरिने निर्देशक शाहीले जानकारी दिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *