यसरी फेल भएको रहेछ प्रधानमन्त्री ओलीको मिर्गौला
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो किड्न खराब हुनुको कारण सुनाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू बिरामी हुँदा जथाभावी पेल किलर खाँदा मिर्गौलामा असर परेको बताएका हुन्।
पञ्चायतकालमा गोलघरमा रहँदा गतिलो खाना र औषधि अभावका कारण क्षयरोग र अल्सर भएपछि आफ्नो स्वास्थ्य बिग्रिदै गएको उनको भनाइ छ।
प्रधानमन्त्री ओलीले आफूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिएको र गतिलो खाना नपाएपछि आफ्नो मिर्गाौला फेल भएको उल्लेख गरे।
‘शरीरका सबै बाह्य र आन्तरिक अंग प्रत्यंग अवयवहरुलाई स्वस्थ र तन्दुरुस्त राख्ने उपायहरू छन्। तिनीहरूलाई अपनाउन सकिन्छ। काबुबाहिरको परिस्थिति परेन भने । जस्तो मेरो किड्नी किन खराब भयोभन्दा लापरबाहीले होइन । डेढ महिना राखेर चुटेको चुट्यै गर्ने, खाना पनि नदिएपछि अनि स्वास्थ्य कहाँबाट मेन्टेन हुन्छ ? चिसो गोलघरभित्र भुइँमा बसेको ठाउँमा तलबाट पानी पलाउँछ, अनि स्वास्थ्य कहाँबाट ठीक हुन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
उनले भने, ‘नेल हत्कडी लगाएको छ। घाउ नै घाउ भएको छ, धन्न त्यो फलामको नेलबाट घाउमा ठोकिएर केटनस आदि इत्यादि भएन संयोगको कुरा हो । त्यसबेला दिनको ७५ पैसा दिन्थ्यो, दाल किन्नुस्, तरकारी किन्नुस् मरमसला किन्नुस्, साबुन किन्नुस्, मञ्जन किन्नुस्, ब्रस किन्नुस् भनेर । दाँत हामी कसरी सफा गर्दथ्यौं भने, एउटा ब्रस किन्यो, त्यो पनि महंगो किन्न सकिंदैनथ्यो, सस्तो किन्यो । दुई चार दिनमा ब्रस सबै पछाडि फर्किन्छ ब्रस त सिधा हुन्छ नि, पछाडि फर्किन्छ । दातमा जुन पर्दथ्यो, त्यसमा ब्रसको फेदको भाग पर्दथ्यो । दात नै सफा गर्न सकिंदैनथ्यो । मुख बाङ्गो पारिपारिकन ब्रस गर्नु पर्दथ्यो । टुथपेस्टको ट्युव हामीले निचोरेको देख्ने हो भने सबै मान्छे छक्क पर्दथे । त्यो सिद्धिएपछि पनि त्यसलाई निर्चोदानिर्चोदा नयाँ किनौं पैसा छैन,त्यही पनि आउँछ कि भनेर त्यसको घाँटी मर्काएर चलाउँथ्यौँ ।’
उनले भने,’मलाई क्षयरोग लाग्यो । औषधि छैन, खाना छैन, अल्सर भयो, औषधि छैन, खाना छैन । अनि कहाँबाट स्वास्थ्य राम्रो हुनु ? पेटभरी घाउँ भएर दुखेर असैह्य हुन्छ । भतभति पोल्छ, घाउँबाट रगत आउँछ । पेन किलर दिन्छ, त्यो खाँदाखाँदा किड्नी फेल नभएर के हुन्छ त ! मेरो किड्नी फेल हुनुको अर्थ पेन किलरले हो । सहनै नसकेर पेन किलर खाएको छ ।’
मिर्गौला फेल भएपछि प्रधानमन्त्री ओलीले दुईपटक मिर्गौला फेरेका छन्।
Facebook Comment