दल विभाजनसम्बन्धी अध्यादेश खेदजनक : विष्ट



नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय खेदजनक रहेको टिप्पणी गरेका छन् । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस गरेपछि फेसबुकमार्फत नेता विष्टले यसलाई लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत भएको भन्दै टिप्पणी गरेका हुन् ।

‘लोकतान्त्रिक अभ्यास र संविधानको मर्मविपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ‚’ विष्टले लेखेका छन्‚ ‘यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ ।

दल विभाजनसम्बन्धी अध्यादेशले राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सिर्जना गर्ने भन्दै नेता विष्टले दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्ने बताएका छन् ।

‘अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउनेछ‚’ उनले लेखेका छन्‚ ‘यसप्रकारको प्रतिगामी निर्णयको सबैले विरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal