अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्ने मन्त्रिपरिषदको निर्णय



सरकारले अफगानिस्तानमा रहेका नेपाली नागरिकहरूको चाँडै उद्धार गर्न आफ्ना निकायहरूलाई समन्वयात्मक ढंगले अगाडि बढ्न निर्देशन दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त जानकारी दिएका हुन् ।

‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुसल शीघ्र उद्धार गर्ने,’ कार्कीले भने, ‘त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरूले समन्वयात्मक रूपले कार्य अगाडि बढाउन निर्देशन दिने ।’

त्यस्तै भूतपूर्व गोर्खा सैनिकहरूको सम्बोधन हुन बाँकी रहेका समस्या समाधान गर्न माग गर्दै बेलायतमा जारी अनसनप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको पनि कार्कीले बताए । कूटनीतिक माध्यमबाट यो समस्या समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको जानकारी दिँदै कार्कीले आमरण अनसन फिर्ता लिन आग्रह गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal