सबै नागरिकलाई यथाशीघ्र खोप पुर्‍याउन सांसदको माग



प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले कोभिडबाट उत्पन्न समस्या, खोपको व्यवस्थापन, बाढी पहिरो र पीडितलाई राहत लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।

बैठकको शून्य समयमा सांसदहरुले कोरोना बढ्दै गएकाले यथाशीघ्र सबै नागरिकलाई खोप पुर्‍याउन माग गर्नुभयो ।

सासंदहरुले बाढी पहिरोले भत्काएका सडक तथा पुल लगायतका पूर्वाधार निर्माणको काम समयमा नै गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसदहरुले दार्चुला घटना भएको १५ दिन हुँदा समेत सत्य तथ्य बाहिर नआएको भन्दै छिटो सत्य तथ्य बाहिर ल्याउन समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

यसैबीच, प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको बैठकमा एक सांसदले प्रयोग गर्नुभएको विवादित अभिव्यक्ति संसद् सचिवालयको रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ ।

बैठक शुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रतिनिधि सभाको बिहीबारको बैठकमा एक सांसदले अर्का सांसदलाई अमर्यादित र असंसदीय शब्द बोलेको भन्दै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गर्नुभएको थियो ।

उहाँको मागपछि सभामुख अग्नि सापकोटाले सांसद मातृका यादवले बिहीबारको बैठकमा प्रयोग गर्नुभएको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको हो ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएका “योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६” र “तथ्याङ्क विधेयक, २०७६” सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्नु भयो ।

प्रतिनिधि सभाको अर्को बैठक साउन ३२ गते सोमबार दिउँसो १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal