एसएसबीले तुइन काटेकै कारण जयसिंह धामी महाकालीमा बेपत्ता भएको अध्ययनको निष्कर्ष



मानवअधिकारको क्षेत्रमा क्रियाशील जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले तुइन फुस्काइदिएकै कारण दार्चुलाका जयसिंह धामी महाकालीमा बेपत्ता भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

दार्चुलामा पुगेर स्थलगत अध्ययन गरेको समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रतिवेदन सार्वजनिक गरेको हो ।

संस्थाले अधिवक्ता सन्तोष कोइराला र अधिकारकर्मी ललित विकलाई स्थलगत अध्ययनका लागि पठाएको थियो । पीडितका परिवार, आफन्त, प्रत्यक्षदर्शी, सरोकारवालासँग भेट गरी प्रतिवेदन बनाइएको अधिवक्ता कोइरालाले बताउनुभयो ।

सरकारलाई दबाब दिने उद्देश्यले आफूहरुले छुट्टै छानबिन समिति गठन गरी घटनास्थल पठाएको संस्थाका अध्यक्ष एकराज भण्डारीले बताउनु भयो ।

प्रतिवेदनमा मान्छे तुइन तर्दै गरेको देख्दादेख्दै एसएसबीका जवानले फुस्काइदिएर अक्षम्य र मावताविरोधी अपराध गरेको उल्लेख छ ।

समितिले बेपत्ता धामीको अवस्था पत्ता लगाएर तत्काल परिवारको जिम्मा लगाउन र कूटनीतिक पहल गरी दोषीलाई कानूनी दायरामा ल्याउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal