आठौँ दिन हेलिकोप्टरबाट मालगाउँ पुग्यो छानबिन टोली



जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटनाको छानबिन गर्न आएको छानविन समिति शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत व्याँसको माल गएको छ । बिहीबार भारतीय बाटो हुँदै घटनास्थल पुगेको छानबिन समिति घटना भएको आठौँ दिन नेपालतर्फबाट घटनास्थल हेर्न हेलिकोप्टरमार्फत मालगाउँ प्रस्थान गरेको हो ।

व्याँस गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न तथा पीडित परिवारसँग छलफल गर्न टोली गएको समिति सदस्य एबं सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले बताउनुभयो । बिहीबार एसएसबीकै समन्वयमा भारतको बाटो हुँदै टोली घटनास्थल गएपछि नेपालतर्फ स्थलगत रूपमा टोली अध्ययन गर्न नआएको भन्दै व्याँसका स्थानीय र नेकपा विप्लव समूहका कार्यकर्ताले नारा–जुलुस गरेका थिए ।

व्याँसका जनतालाई गाउँसम्म पुग्न राम्रो घोडेटो बाटो समेत छैन् । ठाउँ ठाउँमा बाटो भत्किएको छ । नेपालतर्फबाट हिडेर जान बाटो अप्ठ्यारो भएकोले हेलिकोप्टरमार्फत टोली माल गएको हो । प्रतिवेदन बनाउन १० दिनको समय पाएको गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली गत मंगलबारदेखि दार्चुलामा छ । साउन १५ गते मालगाउँबाट सदरमुकाम खलंगा आउने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिदा जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका थिए । बेपत्ता धामी आठ दिनसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।

घटनाको सत्यतथ्य छानविन गर्न चौतर्फी दबाब बढेपछि सरकारले पाँच सदस्यिय छानविन समिति गठन गरेको छ । छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन् । माल जान हेलिकोप्टरमा चारजनाको मात्रै सिट क्षमता भएपछि समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी जोशीबाहेक चार जनाको टोली माल गएको छ ।

समितिले दार्चुला पुगेयता घटनास्थलमा खटिएका अनुसन्धान टोली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, घटनाका प्रत्यक्षदर्शी, पत्रकार, मानव अधिकारकर्मी, राजनीतिक दल र व्याँस गाउँपालिकाका जनप्रतिनिधिहरूसँग छलफल गरेको छ । विहिबार भारततर्फको घटनास्थल गएको छानबिन टोलीलाई धार्चुलाबाटै एसएसबीले सुरक्षा दिएको थियो । एसएसबीको ११ नम्बर बाहिनी डिडीहाटका सिओ महेन्द्रप्रताप सिंह नेतृत्वको टोली समितिसंगै मालघाट गएको थियो ।

टोलीले तुइन बाँधिएको रूखको नापजाँच लिएको छ । अपराधमा संलग्न एसएसबीसँगै गएर अनुसन्धान गर्नुको औचित्य नभएको भन्दै स्थानीयले तुइन लगाइएको ठाउँमै आएर प्रदर्शन गरेका थिए । नेपालपट्टिबाट राष्ट्रिय झन्डा देखाउँदै उनीहरूले नेपालतर्फ आएर पनि अनुसन्धान गर्न माग गरेका थिए ।

महाकाली तर्न नेपालतिर काठको खाँबो गाडिएको छ भने भारततर्फ टुडीको रूख छ । तर, अहिले दुवैतर्फ तार छैन । एसएसबीले रूखबाट तार फुकालेको हो वा काटेको हो भन्ने देखिने प्रमाण केही नभएको अधिकारीहरूको भनाइ छ । महाकाली नदी वारिपारि झन्डै ५० मिटरको दूरी छ ।

समाचार संकलनका लागि गएका पत्रकारलाई एसएसबीले घटनास्थलमा क्यामेरा लैजान रोक लगाएको छ । सुरुमा घटनास्थल जानै रोकिरहेको एसएसबीले अन्तिममा नेपाल–भारत जोड्ने झोलुंगे पुलबाट क्यामेरा नलगीकन मात्रै जान दिएको थियो । शुक्रबार दार्चुलामा नेपाली सेनाले समेत रिपोर्टिङको क्रममा क्यामेरा प्रयोगमा रोक लगाएको पत्रकार नरेन्द्र कार्कीले बताउनुभयो ।

स्थानीय प्रशासनले बयानका लागि सदरमुकाम झिकाइएका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रंकोली र अनिता धामी गाउँ फिर्ता भएका छन् । प्रहरी सुरक्षामा नेपालकै बाटो भएर उनीहरूलाई गाउँ पठाइएको हो । गत १८ साउनमा सोधपुछका लागि भन्दै उनीहरूलाई दुईजना प्रहरीको निगरानीमा सदरमुकाम ल्याइएको थियो ।

गृह मन्त्रालयले गठन गरेको छानबिन टोलीले बुधबार दिनभरि उनीहरूसँग बयान लिएर राति अबेर आफन्तको जिम्मामा लगाएपछि विहिबार विहान गाउँ फिर्ता पठाइएको हो । खलंगामा रहँदा उनीहरूलाई पत्रकार र मानव अधिकारकर्मीसँग भेट्न रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal