प्युठानमा बाख्रा चराउन गएका दुई बालिका माडीमा बगेर बेपत्ता



प्युठान, माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएका छन् । नदीमा बगेर बेपत्ता हुनेमा प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ४ बैके निवासी बोमबहादुर थापा मगरकी छोरी आठ वर्षीया विपना थापामगर र मान्द्रे निवासी नुमबहादुर थापा मर्साङी मगरको छोरी सात वर्षीया सर्मिला थापामगर रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।

सोमबार अपरान्ह ३ बजे पौडी खेल्ने क्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए । घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन् ।

नदीमा बेपत्ता भएका बालिकाको स्थानीय र सुरक्षाकर्मी मिलेर खोजी कार्य जारी राखेको प्रहरी निरीक्षक गैरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal