सशस्त्र प्रहरीद्वारा २ सय ४७ किलो गाँजा बरामद



सशस्त्र प्रहरीले बीरगंज भन्सारको आईसिपी नाका हुँदै भारत जान लागेको खाली भारतीय कन्टेनरबाट २ सय ४७ किलो ग्राम अवैध लागु औषध गाँजा बरामद गरेको छ । 


नेपालमा सामान अनलोड गरेर आईसीपी भन्सार हुँदै भारततर्फ जान लागेको एस आर ५५ एम २२०९ नम्बरको भारतीय कन्टेनरमा गाँजा लुकाएर लैजान लागेको अवस्थामा सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा कन्टेनर नियन्त्रणमा लिई चेकजाँच गरेको थियो । 


भारतीय कन्टेनरमा गाँजा लोड भएको सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको नेतृत्वमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आईसीपी भित्र इन्ट्रि गर्न पार्किङमा राखिएको भारतीय कन्टेनरमा खानतलासी गर्दा कन्टेनरको हुटमा लुकाएर राखिएको २३ पोकामा रहेको २ सय ४७ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी १३ नम्बर गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिनुभयो ।


गाँजा फेला परेको कन्टेनरका चालक भने फरार रहेका छन् । बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानपछि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा कन्टेनर सहित बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal