ठडियो २२ तले धरहरा : गजुरमा सुनको जलप लगाउन बाँकी, वैशाख दोस्रो साता उद्घाटन तयारी (भिडियाेसहित)



लामो समय चर्चा र विवादको विषय बनेको धरहरा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।  ६ वर्षअघि भूकम्पका कारण पूर्णरूपमा क्षति भएको धरहरा २२ तला निर्माण सम्पन्न भइसकेको छ । धरहरामा राखिने गजुरको काम पनि सकिएको  राष्ट्रिय  पुर्ननिर्माण प्राधिकरणले जनाएको छ । 

धरहराको गजुरमा सुनको जलप लगाउन भने बाँकी छ । गजुरमा सुनको जलप लगाउन प्राधिकरणले एक सय २६ तोला सुन धरहरा निर्माण कम्पनीलाई दिने तयारी गरेको छ ।  प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरका अनुसार प्राधिकरणबाट सुन उपलब्ध गराएको सात दिनभित्र जलप लगाउने काम सम्पन्न हुनेछ । ‘जलप लगाएको गजुर राखेपछि धरहरा निर्माण सम्पन्न हुनेछ,’ उनले भने । 

भूकम्पका कारण २२ टुक्रामा परिणत भएको गजुरलाई पहिलाकै जस्तो बनाउन गत माघदेखि काम थालिएको थियो । ‘हामीले महत्वपूर्ण काम सम्पन्न गरिसकेका छौँ,’ प्राधिकरणका विज्ञ सदस्य मानन्धरले भने, ‘प्रधानमन्त्रीज्यूले भन्नुभएअनुसार दोस्रो साता धरहरा उद्घाटन गर्ने गरी काम गरिरहेका छौँ ।’

प्राधिकरणका अनुसार लिफ्ट राख्ने काम पनि सकिएको छ । भर्‍याङ, विद्युत्, रङ लगाउने काम बाँकी छ । ‘हाल गजुरमा सुनको जलप लगाउन बाँकी छ । प्राधिकरणले सुन उपलब्ध गराएको हप्ता दिनमा गजुरमा जलप लगाएर सकिन्छ । भर्‍याङ, विद्युत्, रङको कामबाहेक अरु महत्वपूर्ण काम सकिएको छ,’ मानन्धरले भने । 

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal