मन्त्री बास्कोटाले अश्लील बोल्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक



प्रधानमन्त्रीकै निजी निवासमा बस्दै आएका सूचना प्रविधि तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका कर्मचारीलाई स्त्रीजन्य अश्लील शब्दले गाली गर्दै दलालसँग कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको छ ।

‘यस्तो कुरामा यी मु‘… कर्मचारीसँग लग्यो भने यिनीहरुले हेप्छन्…..’ अडियो सम्वादमा सेक्युरिटी प्रेसबारे मन्त्री बास्कोटाले कर्मचारीलाई संकेत गर्दै एजेन्टसँग भनेका छन्, ‘यो मु……ले बनाएको त ३५ अर्बको छ नि, यो ३५ अर्ब नै नभएपछि, २७ अर्बको निस्केपछि २८ अर्ब बनाउनोस् ।’

अडियो सम्वादमा मन्त्री बास्कोटासँग कुरा गर्ने व्यक्ति स्वीस कम्पनीको एजेन्ट हो भन्ने कुराकानीबाट बुझ्न सकिन्छ । अडियोको सुरुमै एजेन्टले मन्त्री बास्कोटालाई भनेका छन्,‘ यो १२ गते १२ बजेपछि स्वीस एम्बेसी आउँछ।। समय मिलाउनुहोला ।’

प्राप्त २ मिनेट ३० सेकेन्डको अडियोमा सेक्युरिटी प्रेसका एजेन्ट र मन्त्री बास्कोटावीच ७४–७५ करोड कमिसन लेनदेनबारे कुरा भएको छ । मन्त्री बास्कोटाले कर्मचारीहरुलाई नभन्नु भन्दै कमिसन लेनदेनमा सहमति जनाएको अडियो सम्वादमा सुन्न सकिन्छ ।

सूत्रहरुका अनुसार मन्त्री बास्कोटासँग कमिसनबारे सम्वाद गर्ने व्यक्ति स्वीस कम्पनीका एजेन्ट विजय मिश्र हुन् । मन्त्रीसँग एमओयु गर्ने र कमिसन लेनदेन गर्ने कुराकानी भइसकेपछि मन्त्री पछि हटेपछि स्वीस एजेन्टले अडियो ‘लिक’ गरेको देखिन्छ ।

सुुन्नुहोस् अडियो क्लिप :

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal