नक्कली नोट बनाइ कारोबार गर्ने ४ जना पक्राउ



नक्कली नोट बनाइ बजारमा कारोबार गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेका बलबहादुर राना, डोटीका आर्यान खड्का सल्यानका कमल भनिने कोवाराम बुढाथोकी र धनुकुटाका छत्रबहादुर लिम्बु रहेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई ४ लाख १३ हजार नक्कली नोटसहित काठमाडौं र काभ्रेका विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।

नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का रहेको, नोट बनाउने बलबहादुर साथै बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्‍याउने काम गर्ने गरेको सीआईबीकोअनुसन्धानले जनाएको छ। सीआईबीले पक्राउ गरेको बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रंगिन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेकाे छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ । लिम्बुबाट भने नोट बरामद भएको छैन । पक्राउ परेका चारै जनालाई मुद्रा सम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको सीआईबीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal