इरानले भन्यो– अमेरिकालाई झापड हान्यौं



इरानका सर्वोच्च धार्मिक नेता आयोतल्लाह अलि खमेनीले इराकस्थित अमेरिकी सैन्य अखाडामा आफूहरुले आक्रमण गरेर अमेरिकाको अनुहारमा झापड हानेको बताएका छन् । उनले यो आक्रमण अझै कम रहेको बताए ।

राजधानी तेहरानको दक्षिण–पश्चिमस्थित कुम प्रान्तमा हजारौं मानिसहरुको सहभागितामा गरिएको एक बैठकलाई बुधबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । खमेनीले अमेरिकालाई क्रूर, ढँटुवा, बदमासको संज्ञा दिए ।

दुनियाँलाई धम्काउनेलाई सबक सिकाउन इरान सक्षम रहेको बताए । उनले भनेका छन्, ‘अमेरिकाविरुद्ध यो हमलाले मात्र पुगेको छैन । यो क्षेत्रबाट अमेरिकाको उपस्थिति अन्त्य हुनु महत्वपूर्ण हो ।’

इराकका दुई स्थानमा रहेका अमेरिकी सैन्य अड्डामा मंगलबार राति इरानले ड्रोन आक्रमण गरेको थियो । अमेरिकी सेनाको आक्रमणबाट इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएको बदलामा प्रत्याक्रमण गरेको इरानले जनाएको छ । करिब दुई दर्जन ड्रोन आक्रमणबाट कम्तिमा ८० जना अमेरिकी सेना मारिएको इरानका सञ्चार माध्यमले जनाएका छन् । यद्यपि यसको स्वतन्त्र पुष्टि भइसकेको छैन ।

इरानका विदेशमन्त्री जावेद जरीफले भनेका छन्, ‘हामी युद्ध चाहँदैनौं तर कुनै पनि आक्रमणबाट आफ्नो रक्षा गर्छौं ।’

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal