गहनाको लागी दुई बुहारीले गरे सासुको हत्या



गुल्मीको इस्मा गाउँपालिका–३ सिमपानीमा दुईजना बुहारी मिलेर सासुको हत्या गरेका छन् । ७६ वर्षीया कौशीला बिकको हत्या उनका दुई बुहारी देवी र लक्ष्मी मिलेर गरेको गुल्मीको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुनका गहना लुट्ने योजनाका साथ उनीहरुले सासुको हत्या गरेको प्रहरीले जनाएको छ ।

पुस १७ गते गोरु फुकेको भन्दै कौशीलालाई गोठमा लगी दाउराले हानेर बेहोस बनाई नाक र कानमा लगाएका गहना लुटेको प्रहरीको दाबी छ । तर, उनीहरुले गोरुले हानेर सासु घाइते भएको नाटक गरी छिमेकीलाई खबर गरेर उपचारको लागि गुल्मी अस्पताल पुर्‍‍याएका थिए ।

गम्भीर घाइते भएकी कौशीलालाई तम्घासमा उपचार सम्भव नभएपछि बुटलस्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको गत १९ गते मृत्यु भयो । मृतक कौशीलाको टाउकोमा लागेको चोट हेर्दा गोरुले हानेको जस्तो नदेखेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानका क्रममा दुई बुहारी मिलेर हत्या गरेको पुष्टि भएको छ।

श्रीमान विदेशमा रहेकाले बुहारी देवी सासुसँगै बस्दै आएकी थिइन् । घटना हुनेबेला मृतक कौशिलाका श्रीमान मासु लिन गएका थिए । त्यही मौका छोपी देवी र लक्ष्मीले सासुलाई गोठमा लिएर दाउराले हानेर बेहोस बनाएर गहना लुटेका थिए ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal