भ्रमण वर्षको सद्भावना दूतमा प्रकाश सपूत



अहिलेका चर्चीत गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् । नेपाल र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि गण्डकी प्रदेश सरकारले सद्भावना दूतका रूपमा सपूतलाई नियुक्त गरेको हो ।

गायक सपूत सांगीतिक यात्राको क्रममा हाल जापानमा रहेकाले भ्रमण वर्ष शुभारम्भ समारोहमा उनका बुबा बलबहादुर विकले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट सद्भावना दूतको प्रमाणपत्र ग्रहण गरेका थिए । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका सपूतले गण्डकीजस्तो सुन्दर प्रदेशको सद्भावना दूतमा नियुक्त हुन पाउनुलाई महत्वपूर्ण उपलब्धि र जिम्मेवारीका रूपमा लिएको बताए ।

गायक सपूतले आफ्नो र समग्र नेपाली सांगीतिक क्षेत्रको पहिचानलाई प्रदेश सरकारले मूल्याङ्कन गरेको धारणा राखे । “म अब जहाँ–जहाँ कार्यक्रमका सिलसिलामा पुग्छु, भ्रमण वर्षको प्रचार गर्नेछु”, उनले भने, “मेरा सिर्जनामा पनि नेपालका पर्यटकीय गन्तव्यका भिडियो र विषयवस्तु समेट्ने प्रयास गर्नेछु ।”

प्रतिक्रिया दिनुहोस्
© 2020 Intro Nepal