अर्को वर्ष २२ तले धरहरा चढ्न पाइने



२०७२ सालमा गएको विनाशकारी भूकम्पले भत्किएको धरहरा सरकारले बाहिरबाट हेर्दा पुरानै डिजाइन, तर भित्र सुविधासम्पन्न हुनेगरी बनाउन लागिएको हो ।भूकम्प गएको वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले धराहराको भग्नावेशेषछेउ उभिएर, ‘म बनाउँछु मेरो धराहरा’ अभियानको घोषणा गरेका थिए । तर भूकम्प गएको ३ वर्ष पुग्दा पनी धरहरा बन्न सकेको छैन । २०७५ बाट भने धरहरा पुनर्निर्माणले गति पाएको छ । र, १ वर्षभित्र नयाँ धरहरा ठडिने पुनर्निर्माण प्रधिकरणको दाबी छ ।

पुनर्निर्माणको ठेक्का जिआइइटिसी–रमन जेभीले पाएको छ । सुरुमा स्थानीय बासिन्दाले परम्परागत बाटो खुलाउनुपर्ने माग गरेपछि निर्माणको काम अबरुद्ध भएको थियो ।अहिले भने कुनै अवरोध छैन । हालसम्म धरहराको ३ तल्ला निर्माण भएको छ भने चौथो तल्लाको निर्माण शुरु भएको छ । अबको १२ दिनभित्रमा चौथौ तल्ला सकिने प्राधिकरणका पुनर्निर्माण विज्ञ राजुमान मानन्धरले जानकारी दिए । २९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ । वि.सं. १९९० सालको भूकम्पअघि धरहरा ११ तलाको थियो । भूकम्पले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । धरहरामा भ¥‍‍याङ मात्र होइन, लिफ्ट पनि हुनेछ। धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ । अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको छ ।

प्राधिकरणकाअनुसार धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुनेछ । बेसमेन्टमा तल–माथि गर्न लिफ्ट हालिने छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रदर्शनीमा राखिने छ । म्युजियम जाने बाटोमा ५० फिट अग्लो वाटर फाउन्टेन हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

फोटो/भिडियो : दिवश खड्का

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal