बसको ठक्करबाट छात्राको ज्यान गएपछि चाबहिलमा तनाव, गाडीमा आगजनी र तोडफोड ( Exclusive Video )



बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । घटनापछि आक्रोशित विद्यार्थीहरूले बसमा गरेकाे आगजनी साथै प्रदर्शन गरेका छन्। प्रदर्शनबाट सुकेधारा-चाबहिल क्षेत्रमा तनावग्रस्त भएको छ ।

भक्तपुर-काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सोमबार बिहान पौने ६ बजे सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् ।

पन्तको मृत्युपछि पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल मित्रपार्क क्षेत्रमा प्रदर्शन गरे । सहपाठीको मृत्युपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं-भक्तपुर रुटमै चल्ने बा ४ ख ७१०४ नम्बरकाे अर्काे बसमा आगजनी गरेका हुन् । आगलागीबाट बस पूर्ण रूपमा नष्ट भएको छ । साथै आगोको लप्काले एक घरमा पनि सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal