‘प्रेम गीत ३’ क्यारेक्टर पोस्टरमा शिव श्रेष्ठको क्रोध



फिल्म ‘प्रेम गीत ३’ निर्माण यूनिटले अभिनेता शिव श्रेष्ठको क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै काठमाडौँको सुटिङ सेड्युल सकिएको बताएको छ । अब फिल्मको बाँकि छायांकन मनाङमा हुनेछ । सार्वजनिक पोस्टरमा अभिनेता श्रेष्ठलाई क्रोधित मुद्रामा सिंहासनमा बसेर केही इशारा गरिरहेको देखाइएको छ । पोस्टरमा उनलाई दुई सय बर्ष अगाडीका राजाहरुले लगाउने पहिरनमा देखाइएको छ । लामो कपाल र लामो जुँगामा अभिनेता श्रेष्ठलाई चिन्न झन्डै मुस्किल पर्छ । सार्वजनिक पोस्टर कमल प्रसाई र दिपेन्द्र घिमिरेले संयुक्त रुपमा खिचेका हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा निर्माण भैरहेको फिल्ममा अभिनेता शिव श्रेष्ठ संगै प्रदिप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, प्रेम पुरी, लक्ष्मी बर्देवा, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरीलगायतका कलाकारहरुको अभिनय रहेको छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा हिमाल केसीको द्वन्द रहेको छ । फिल्म चैत २८ गतेबाट प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal