आर्यन सिग्देलले अझै धेरै हल पाउनु पर्थ्यो – नायक सलोन बस्नेत



मङ्सिर ६ गते शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘च च हुई’ निर्माण पक्षले एक स्पेसल शोको आयोजना गरेको छ । स्पेसल शोमा फिल्म हेर्नका लागि विभिन्न कलाकारहरु संगै फिल्म पत्रकारहरुको बाक्लो उपस्थिती रहेको थियो । फिल्म हेरेका अधिकांशले फिल्म राम्रो बनेको प्रतिकृया दिएका छन् । फिल्म हेरेर निस्केका नायक विराज भट्टले आर्यनको रोमान्टिक अभिनयको आफु सधैँ प्रसंशक रहेको र च च हुईमा आर्यनको अभिनय राम्रो रहेको प्रतिक्रिया दिए । त्यस्तै फिल्मको प्रस्तुती, कथा र लोकेशन निकै मन परेको प्रतिकृया निर्देशक तथा कलाकार दिपाश्री निरौला, कलाकार द्वय जितु नेपाल र केदार घिमिरे (माग्नेबुढा)ले दिए ।

‘च च हुई’ हेर्न पुगेका नायक सलोन बस्नेतको प्रतिकृया भने अन्यको भन्दा फरक थियो । ‘म जहिल्यै उहाँको फ्यान रहँदै आएको छु । जुन समयमा आर्यन सिग्देल करियरको उचाईमा हुनुहुन्थ्यो उक्त समयमा नेपालमा मल्टिप्लेक्सहरु सम्भवत सुरुवाती चरणमा थिए होला । नेपालमा मल्टिप्लेक्स हलहरुलाई उकास्न आर्यन सिग्देलको भूमिका महत्वपुर्ण रहेको छ जस्तो मलाई लाग्छ ।’ उहाँकै फिल्महरु चलाएर कति मल्टिप्लेक्स स्थापित भएका थिए होला भन्दै उनले विगत सम्झाँदै भने, ‘आर्यन दाईले धेरै हल पाउनुपर्थ्यो । त्यसो हुँदा अझै धेरै खुसि हुन्थेँ होला । तर, आर्यन सिग्देलको फिल्मले थोरै हल पाएकोमा दुखी छु ।’ आर्यन सिग्देलले मल्टिप्लेक्स हलहरुबाट अझै धेरै साथ पाउनु पर्ने आशय सलोनको थियो ।

हुन पनि कुनै समय नेपाली फिल्म क्षेत्रमा चकलेटी नायकको रुपमा एकक्षत्र राज गरेका थिए आर्यनले । तर, पछिल्लो समय उनले अभिनय गरेका फिल्मले दर्शकलाई हल सम्म तान्न सकेका छैनन् । आर्यन बलियो कमब्याकको प्रतीक्षामा छन् । च च हुई त्यो फिल्म बन्न सक्छ या सक्दैन केही दिनको दर्शक प्रतिकृया पछि थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal