दमन माथिको ‘दमन’



कुनै समय थियो जब दमन रुपाखेती नेपाली हास्यव्यंग्य क्षेत्रमा चहकिला थिए । उनको कलाको प्रशंसा नगर्ने कमै थिए होला । तर, पछिल्लो समयको अवस्था फेरिएको छ । दमन हास्यव्यंग्य क्षेत्रमा सकृय त छन् तर उनको चर्चा उती छैन ।

दमनले नेपाली कला क्षेत्रमा धेरैलाई जन्माएका छन् । दमनले नेपाली कला क्षेत्रको बाटो पहिल्याउन धेरैलाई सहयोगी भूमिका निर्वाह गरेका छन् । कैयौँलाई बाटो देखाएका दमनलाई आज आफैँ कुन गोरेटोमा हिँड्दै छु भन्नेमा अलमल छ । दमन महसुस गर्छन्, ‘कतै मै माथि पो दमन भयो कि ?

इन्ट्रो नेपाल संगको कुराकानीका क्रममा उनले मलिन स्वरमा भने, ‘अहिले सम्म जतिलाई विश्वास गरे सबैले मलाई दमन गरे ।’ आखिर दमन माथि कसले दमन गर्यो ? उनी भन्छन्, ‘हिजो जब म चर्चामा थिए त्यो समयमा धेरैलाई सहयोग गरेको थिए । ज-जसलाई मैले सहयोग गरेँ आज म उनीहरु बाटै उपेक्षित छु । मैले विश्वास गरेका सबैले मलाई धोका दिए । म संग जोडिएकाहरु कोही बढि महत्वकांक्षी थिए, कोही स्वार्थी । आफ्नो स्वार्थ पूर्ति गरे र मलाई छोडिदिए । आज म आफैँ माथि दमन भएको महसुस गर्दैछु ।’

पछिल्लो समय नेपाली कलाकारिता क्षेत्रमा मूल्य, मान्यता र सम्मानमा कमी आएको समेत उनको भनाई छ । को अग्रज को अनुज कसैलाई मतलव छैन । ‘नेपाली कलाकारिता क्षेत्र आफ्नो दुनु सोज्याउनमा ब्यस्त छ । त्यही आफ्नो दुनु सोज्याउनेहरुबाट म माथि दमन भएको हो । यद्यपी कसैप्रति गुनासो भने छैन । मलाई विश्वासघात गरेर भए पनि उहाँहरुले अहिले पाउनु भएको सफलतामा म खुसी छु’, दमनले भने ।

दमनलाई पछुतु पनि छ । जीवनको सबै भन्दा ठुलो पछुतु उनलाई हास्य टेलिशृंखला ‘मेरी बास्सै’ छोडेकोमा छ । तर, सो टेलिशृंखला छोड्नुको कारण भने आफु नभै सो टेलिशृंखलामा आवद्ध अन्य कलाकारहरुको उच्च महत्वकांक्षा रहेको उनको भनाई छ ।

अब दमन आफु माथि दमन भएको सोचेर बस्नु भन्दा पनि परिस्कृत भएर अगाडि बढ्ने सोचमा छन् । केही समय पछाडी रमाइलो एचडिमा हास्य टेलिशृंखला ‘जे होला होला’ लिएर आउन लागेका उनी फिल्म निर्देशनमा समेत होमिँदै छन् । उनी फिल्म ‘जन्ति बाख्रो’बाट फिल्म निर्देशनमा डेब्यु गर्दै छन् । आगामी माघ तेश्रो साताबाट छायांकन सुरु गर्ने गरी फिल्मको तयारी अगाडि बढेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal