‘म यस्तो गीत गाउँछु २’को गीतमा रोमान्टिक पल र पुजा



फिल्म ‘म यस्तो गीत गाउँछु २’मा समावेश गीत ‘तिम्रो घरको वरिपरी’ छायांकनका केही तस्विर निर्माण पक्षले सार्वजनिक गरेको छ । करिब एक साता लगाएर छायांकन गरिएको उक्त गीतमा पाँचसय जना कोरसको प्रयोग गरिएको निर्माण पक्षले बताएको छ ।

नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गीतको सुटिङ गरिएको हो । भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ ।

सुदर्शन थापा निर्देशित फिल्ममा नायक पल शाह र नायिका पुजा शर्मा मुख्य भूमिकामा छन् । फिल्ममा पल र पूजासँगै दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिवम् अधिकारीको लेखन रहेको फिल्मलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् भने जन्मजय साम्पाङ राईको सह-निर्माताको रुपमा रहेको छन् ।

फिल्ममा सौरभ लामाको छायांकन रहेको छ । फिल्म फागुनाको २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal