‘अपवाद’ रहेनन् अनमोल



नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेको छोटो समयमा चर्चाको शिखरमा पुग्ने युवा स्टार अभिनेता हुन् अनमोल केसी । फिल्म ‘होस्टेल’बाट डेब्यु गरेका उनले त्यसयता आफ्नो करियरलाई फर्केर हेर्नु परेको छैन ।

फिल्मको व्यवसायिक सफलता एकापट्टि होला तर, अनमोलको करियर ग्राफ उकालो लागेको लागेकै छ । उनले होस्टेल, जेरी, ड्रिम्स, गाजलु, कृ, क्याप्टेन र ए मेरो हजुर ३ गरी सात फिल्ममा अभिनय गरिसकेका छन् ।

अनमोलले आठौँ फिल्मका रुपमा होम प्रोडक्सनको फिल्म ‘एन्टीहिरो’ गर्ने भनिएता पनि उक्त फिल्म भन्दा अगाडि उनले साम्तेन भुटियाको निर्देशन रहने फिल्म ‘धुपौरे’ गर्ने पक्का भएको थियो । लोकेशन हण्टिङमा समेत पुगेका अनमोलले एक्कासी धुपौरे छोडेर ‘ए मेरो हजुर ४’ साइन गरेका छन् ।

अनमोलले आफ्नो सातौँ फिल्मसम्म आइपुग्दा कुनै पनि नायिका संग दोहोर्याएर काम गरेका थिएनन् । हरेक फिल्ममा उनले फरक फरक नायिका संग स्क्रिन सेयर गरेका थिए । उनी त्यो अपवादमा पर्थे जसले हरेक फिल्ममा नयाँ नायिका संग स्क्रिन सेयर गरे । तर, ‘ए मेरो हजुर ४’ साइन गरे संगै उनी अब त्यो अपवाद रहेनन् ।

‘ए मेरो हजुर ३’मा नव नायिका सुहाना थापासंग स्क्रिन सेयर गरेका उनले ‘ए मेरो हजुर ४’मा पनि सुहाना संगै स्क्रिन सेयर गर्दैछन् । सुहाना अनमोलले दोहोर्याएको पहिलो नायिका बन्दै गर्दा अनमोल अपवादको लिस्ट बाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal