विमल घर्तीमगर सहित ४ खेलाडी राष्ट्रिय टिमबाट बर्खास्त



अखिल नेपाल फुटबल संघ (एनफा) ले विश्वकप २०२२ को छनोटमा कुवेत विरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै राष्ट्रिय टिमबाट बर्खास्त गरेको छ ।

एन्फाले स्टार फर्वार्ड विमल घर्तीमगर मिड फिल्डर अन्जन विष्ट, अर्का मिड फिल्डर सन्तोष तामाङ र डिफेन्डर दीनेश राजवंशीलाई हटाएको हो। उनीहरु गएराति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएकाले कारबाही गरिएको एन्फाले जनाएको छ । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरुलाई टिमबाट बर्खास्त गरेको हो।

शनिबार ३ बजे नेपाली टिम भुटान प्रस्थान गर्दैछ। कारबाहीमा परेपछि ती ४ खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । एन्फाले उनीहरुको स्थानमा वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।

नेपालले विश्वकप छनोटमा कुवेत विरुद्ध थिम्पुमा मंगलबार प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको नभएको भन्दै एसियाली फुटबल महासंघले जनाएपछि नेपाली टिम घरेलु खेल भुटानमा खेल्न बाध्य भएको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal