वीरगञ्जमा आयोजित तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न



‘तराई, पहाड, हिमालको उत्सव : नेपाली चलचित्र स्वर्णिम महोत्सव’ भन्ने मूल नाराका साथ वीरगञ्जमा आयोजना गरिएको तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न भएको छ । नेपाली फिल्म क्षेत्रले ५३ वर्ष पुरा गरेको अवसर पारेर प्रदेश नम्बर २ अन्तर्गत वीरगञ्जमा चलचित्र निर्माता संघले कार्तिक २१, २२ र २३ गते आयोजना गरेको उक्त महोत्सव राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

वरिष्ठ कलाकारहरू निर शाह, भुवन केसी, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, सुनिल थापा, विराज भट्ट, झरना थापा, निरुता सिंह, वर्षा राउत, संजोग कोइराला, वर्षा सिवाकोटी, नीता ढुंगाना, हरिहर अधिकारी, छुल्ठिम गुरुङ, दीपकराज गिरी, दिपाश्री निरौला, प्रशान्त ताम्राकार, पवित्रा आचार्य, रेजिना उप्रेती, साम्राज्ञी राज्य लक्ष्मी शाहलगायतका नेपाली कलाकारहरुको सहभागीता रहेको उक्त महोत्सवको शुभारम्भ कार्यक्रममा बलिउड कलाकार गोविन्दाको समेत उपस्थिती रहेको थियो । महोत्सवमा नेपाली फिल्म क्षेत्रसंग सम्बन्धित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

फिल्म क्षेत्रको विकास र प्रवर्द्धनको लागि आयोजना गरिएको महोत्सवको समापन कार्यक्रममा बोल्दै चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले कलाकर्मीको साथमा विरगंज बासी नेपालीहरुको उत्साहजनक सहभागिताले महोत्सव सफल भएको बताए ।

तीन दिने महोत्सवको क्रममा केन्द्रिय कलाकारहरुको साथमा स्थानिय कलाकारहरुले विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । साथै महोसत्वमा भोर, बुलबुल, आमा लगायतका फिल्महरु समेत प्रदर्शन गरिएको थियो ।

महोत्सवमा चलचित्र विकास वोर्ड र नेपाल उद्योग वाणिज्य महासंघ प्रवर्धकको रुपमा रहेका थिए सह-आयोजकको रुपमा वीरगञ्ज उवासंघ रहेको थियो । वीरगञ्ज महानगर पालिका संरक्षक रहेको कार्यक्रमलाई भिजिट नेपाल २०२० र प्रदेश २ सरकारको सहयोग रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal