‘मिस्टर नेपाली’को प्रिमियर अमेरिकामा हुने



फिल्म ‘मिस्टर नेपाली’को नेपाल प्रदर्शन अगावै अमेरिकामा प्रिमियर हुने भएको छ । देव भुषालको निर्देशन तथा प्रेमराज दाहालको निर्माण रहेको फिल्ममा सदावहार नायक भुवन केसी दोहोरो भूमिकामा छन् । फिल्ममा भुवनको साथमा नायिका रीमा विश्वकर्मा मुख्य भूमिकामा छिन् । फिल्म कात्तिक २९ गतेबाट नेपालमा रिलिज हुँदैछ । फिल्मले विदेशमा रहेका नेपालीहरुको नेपालप्रतिको मायालाई झल्काउने निर्माण पक्षको भनाई छ ।

निर्माणपक्षले दिएको जानकारी अनुसार अमेरिकामा फिल्मको प्रिमियर नोभेम्बर १० र १२ तारिक हुन लागेको हो । हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे फिल्मको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा फिल्म प्रिमियर हुनेछ ।

यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा फिल्मको प्रिमियर हुनेछ । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो फिल्मको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे फिल्मको प्रिमियर हुन लागेको हो ।

नायक भूवन र रीमासंगै सरोज खनाल, बिष्णु सपाकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, रवि डंगोलको साथमा नव–कलाकार साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको फिल्ममा हिमाल केसीको द्वन्द, सुभाष भुषाल र दिपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal