‘च च हुई’ ट्रेलर सार्वजनिक



आर्यन सिग्देल अभिनित फिल्म ‘च च हुई’ को ट्रेलर सार्वजनिक भएको छ । सिल्की सिल्की बाल र जवानी बोलको दुई गीत सार्वजनिक गरिसकेको टिमले ट्रेलर सार्वजनिक गरेको हो । सार्वजनिक ट्रेलरलाई फिल्मका मुख्य पात्रहरु आर्यन सिग्देल, भोलाराज सापकोटा, मिरुना मगर, माओत्से गुरुङको वरपर घुमाइएको छ । दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ ।

जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई फिल्ममा देखाइएको हो । आर्यन र भोला हङकङमा काम गरिरहेका दुई युवाको भूमिकामा छन् भने मिरुना हिमाली भेगको युवतीको भूमिकामा छिन् । फिल्ममा निर्देशन र सम्पादन साम्तेन भुटियाको रहेको छ । फिल्ममा पुस्कर गुरुङ, आर्जेस रेग्मी, बबिता मल्ललगायतको अभिनय पनि रहेको छ । फिल्म रोमान्टिक कमेडी जनरमा तयार भएको हो भने यसलाई एजीएल इन्टरटेनमेन्टको ब्यानरमा अमृत घोले लामाले निर्माण गरेका हुन् । व्यवसायी घोले यसैफिल्म मार्फत निर्माणमा आउँदैछन् । यसमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने, पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।

फिल्ममा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, यश्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ । फिल्मलाई उपत्यकामा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal