छमछमी सिजन ४ को फाइनल आज



नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो रीयो छमछमी सिजन ४ को अन्तिम प्रतिस्पर्धा आज २०७६ कार्तिक ९ गते शनिवार हुने भएको छ । काठमाडौं स्थित आर्मी अफिसर्स क्लबमा आकर्षक प्रस्तुती सहित हुने विशेष कार्यक्रमको नेपाल टेलिभिजन र एनटीभी कोहलपुरले राती ८ः४० बजेबाट प्रत्यक्ष प्रसारण गर्नेछन् ।

२०७५ साल कार्तिक १७ गतेबाट शुरु भएको यस प्रतियोगितामा देशका ७ वटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएकोे थियो । काठमाडौं, विर्तामोड, ईटहरी, जनकपुर, हेटौडा, चितवन, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा भएका अडिसन राउन्डहरुमा हजारौंको सहभागिता थियो । ती अडिसन राउन्डहरु पार गर्दै आएका प्रतियोगीहरु मध्येबाट हाल ५ जना प्रतियोगिहरु अन्तिम प्रतिष्पर्धामा हुनुहुन्छ । तिनै ५ जना अन्तिम प्रतियोगीहरुबाट एसएमएस भोटिङको आधारमा १ जना विजेता छानिनुहुनेछ भने अन्य दुई जना फस्ट रनर अप र सेकेण्ड रनर अप छानिनु हुनेछ । जसका लागि आफ्नो मोबाइलको इनबक्समा गई CC टाइप गरी आफ्नो मनपर्ने प्रतियोगीको कोड टाइप गरी 31009 मा पठाउनुपर्नेछ । यसका साथै रीयो छमछमी ४ को मोबाइल एप डाउनलोड गरेर पनि भोटिङ गर्न सकिने व्यवस्था छ । भोटिङ लाइन शनिवार राति ९ः३० बजेसम्मका लागि खुला राखिएको छ ।

अन्तिम ५ प्रतियोगीहरुमा दाङका आकाश विक (भोटिङ कोड नम्बर 01), झापाकी दीलमाया लिम्बु (भोटिङ कोड नम्बर 03), महोत्तरीका नेशन सुश्लिङ मगर (भोटिङ कोड नम्बर 05), मकवानपुरका सन्ध्या आचार्य (भोटिङ कोड नम्बर 08) र पोखराका सपना धाही थापा (भोटिङ कोड नम्बर 09) हुनुहुन्छ ।
प्रतियोगिताको विजेताले Alto K-10 कार प्राप्त गर्नुहुनेछ भने फस्ट रनरअपले ५ लाख बराबरको र सेकेण्ड रनरअपले ३ लाख बराबरको उपहार प्राप्त गर्नुहुनेछ । यसैगरी उत्कृष्ट सात जनाले १ लाख बराबरको उपहार प्राप्त गर्नुहुनेछ ।

यस प्रतियोगिताका निर्णायक मण्डलमा चर्चित नृत्याङ्गना एवं अभिनेत्री मिथिला शर्मा, कोरियोग्राफर महेश गोदार र नायिका सञ्चिता लुँइटेल रहनुभएको छ ।
नेपालको विभिन्न भाषा, कला, संस्कृति र साहित्यको संरक्षण एवं संवर्धन गर्ने उद्देश्यले विं सं २०६६ सालमा नेपाल टेलिभिजनको रजत महोत्सवको अवसर पारेर डान्स रियालिटी शो छमछमीको शुरुवात भएको हो । यसको ग्रान्ड फिनालेमा माननीय सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायत विशिष्ट व्यक्तित्व तथा कलाकारहरुको समेत सहभागिता रहनेछ ।

छमछमी नाम दिएर शुरु गरिएको नेपालकै पहिलो रियालिटी शोको पहिलो सिजनमा झापाकी अनुजा अग्रवाल विजेता हुनुभयो भने सिजन २ मा झापाकै साजन तामाङ विजयी हुनुभयो । यसैगरी तेस्रो सिजनको विजेता हेटौंडाका सरोज प्रजा हुनुभयो ।

विभिन्न सिजनका विजेताहरुका साथै कार्यक्रमका अन्य प्रतियोगिहरुले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरु गर्दै आउनुभएको छ, जसले गर्दा कार्यक्रम छमछमी दर्शकमाझ झन् झन् लोकप्रिय बन्दै आएको छ ।

यस कार्यक्रमको प्रायोजन चौधरी ग्रुपले गरेको छ भने बजार व्यवस्थापन कि एडभरटाइजिङले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal