‘बादशाह जुट’ र मुस्लिम संघ बिचको विवाद टुङ्गियो



सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘बादशाह जुट’ले मुस्लिम संघसँग माफी मागेको छ । ट्रेलरमा मुस्लिम समुदायलाई आँच पुर्याउने दृष्यहरु राखेको भन्दै केही दिन अगाडि मुस्लिम समुदायले फिल्मको टिमप्रति आपत्ति जनाएको थियो ।

मुस्लिम संघले एक पत्रमार्फत् ट्रेलरमा भएको जातिय विभेद, सामाजिक विभेद तथा जातिय हिंसा हुने जस्ता कुरा हटाउन माग गरेको थियो । उक्त पत्रको जवाफमा निर्माण कम्पनी ‘एच एण्ड वि फिल्मस्’ले विज्ञप्ति जारी गर्दै माफी मागेको हो ।

‘ट्रेलरको ३ सेकेण्डदेखि बजेको अजानको आवाज र त्यसलगत्तै ८ सेकेण्डमा देखाइएको हात हतियारसँगै १३ सेकेण्डमा राखिएको आइ.एस.एसको आवाजले मुस्लिम समुदायलाई ठेस पुग्न गएकोमा हामी समस्त निर्माणपक्ष क्षमाप्रार्थी छौं । यो फिल्मको कथा वा दृश्यले नेपाल भित्र वा बाहिर रहेका कुनै पनि समुदाय, धर्म तथा संस्कृतिलाई कुनै किसिमको अपमान गर्न खोजेको छैन’ विज्ञप्तिमा भनिएको छ ।

मुस्लिम संघ र निर्माण पक्षबीच भएको भेटवार्तापछि उनीहरु सहमतीमा पुगेका हुन् । फिल्ममा भएका केही दृष्यहरु पनि सच्याउन मुस्लिम संघले माग गरेको छ । निर्माण पक्षले पनि ठेस पुग्ने कुनै पनि दृष्यहरु भए त्यसलाई हटाउने सहमति गरेको छ ।

जोन सिंह राणाको निर्देशनमा बनेको यो फिल्म कत्तिक १५ गतेबाट रिलिज हुदैँछ । फिल्ममा सुशीलसँगै आमिर गौतम, रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal