अनुमती बेगर फिल्मको च्यारिटी शो नगर्न हलहरुलाई दीपकको अनुरोध

असोज २४ गते देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘छ माया छपक्कै’का निर्माता तथा कलाकार दीपक राज गिरीले असोज २४ गते आफुहरुको जानकारी बेगर फिल्मको च्यारिटी शो हुन लागेको भन्दै त्यसो नगर्न अनुरोध गरेका छन् ।
केही हलहरुले फिल्मको च्यारिटी गर्न लागेको खबर आफुले प्राप्त गरेको र सो विषयमा आफुलाई केही जानकारी नभएको उनले बताएका हुन् । उनले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै भनेका छन्, ‘छ माया छपक्कै को नाममा अशोज २४ गते केही हलहरूले च्यारिटी शोहरू गर्न लागेको सुन्नमा आएकोले कृपया यस्ता शोहरू निर्माताको अनुमती बिना नगर्नु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौँ ।’
तर, दीपकले स्टाटसमा कसले र के उदेश्यका साथ च्यारेटी गर्न लागेको खबर उनले प्राप्त गरेका हुन् भन्ने खुलाएका छैनन् । यद्यपी फिल्मको सम्बन्धित पक्षको अनुमती बेगर च्यारिटी शो गरिनु गैरकानुनी ठहरिन्छ ।
आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिपेन्द्र लामा निर्देशित फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।
रोहित अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेका छन् । फिल्मका सह-निर्मातामा ताराचन्द्र बजगाई निशान, सुमन गिरी भान्जा, केशव न्यौपाने, दिपेन्द्र खनिया, सुरज बम ठकुरी, रबिन डाँगी लगायत रहेका छन् ।
निर्देशक लामाकै कथा रहेको फिल्ममा पटकथा दीपकराज गिरीको रहेको छ भने दीपकराज गिरीसंगै केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद, रोशन श्रेष्ठको द्वन्द, हरी हुमागाईको डिओपी, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहेको छ ।