‘सरौतो’ नायिका सुमी मोक्तान जसको आफ्नै नामको कफी ब्राण्ड छ



विश्वभर नै हेर्ने हो भने विरलै त्यस्ता सेलिब्रेटी होलान् जसको आफ्नै नामको प्रोडक्ट ब्राण्ड होला । बलिउडमा अभिनेता सलमान खानले क्लोथिङ ब्राण्ड बिइङ ह्युमन सुरु गरे जुन अहिले विश्वभर चर्चित छ । नेपाली कलाकारको हकमा कुनै प्रोडक्ट ब्राण्ड स्टाब्लिस गर्नु त्यती सहज पक्कै छैन । केही कलाकारहरु छन् जसले व्यवसाय गर्दै आएका छन् । जस्तै नायिका द्वय नम्रता श्रेष्ठ र स्वेता खड्का रेस्टुरेण्ट व्यवसायमा सकृय छन् । कोही बुटिक संचालन गरिरहेका छन् । तर, नायिका सुमी मोक्तान त्यो अपवाद हुन् जसको आफ्नै नामको प्रोडक्ट ब्राण्ड छ ।

सुमी आफैँमा व्यवसायी समेत हुन् । धेरैलाई थाहा नहुन सक्छ उनको आफ्नै नामको ‘कफी ब्राण्ड’ रहेको छ । ‘SM Coffee’ उनको आफ्नै कफी ब्राण्ड हो जुन नेपाल भन्दा पनि बढी विदेशमा निर्यात हुन्छ । अमेरिका, जापान, ताइवान, कोरिया, थाइल्याण्ड लगायतका देशमा उनले आफ्नो कफी निर्यात गर्दै आइरहेको छिन् । नेपालको पहिलो अर्गानिक कफी उत्पादक एभरेस्ट कफीको सिस्टर कम्पनीको रुपमा रहेको SM Coffeeले विशेषत अर्गानिक अरेविक कफी उत्पादन गर्छ । उनको कफी फार्म पोखरामा रहेको गोर्खा भिलेज रेस्टुरेण्ट परिसर संगै पोखरा कै पामे, लम्जुङ्, रसुवा, काभ्रे लगायतका जिल्लामा छ । सुमी ‘रोयल एभरेस्ट कफी’को सञ्चालक समिती सदस्य समेत हुन् ।

भविष्यमा आफ्नै क्लोथिङ ब्राण्ड समेत ल्याउने योजनामा रहेकी सुमीको पारिवारिक पृष्ठभुमि भने पर्यटन र शिक्षण व्यवसायसंग सम्बन्धित छ । उनी नेपाल पर्वतारोहण संघ तथा इन्टरनेशनल माउण्टेन म्यूजियमका अध्यक्ष सन्त वीर लामाकि छोरी हुन् ।

अमेरिकाको स्ट्याम्फोर्ड इन्टरनेशनल यूनिभर्सिटीबाट इन्टरनेशनल विजनेश म्यानेजमेन्ट र यूनिभर्सिटी अफ हौस्टन बाट साइकोलोजीमा ब्याचलर गरेर नेपाल फर्केकी उनले पछिल्लो समय भने आफुले अध्ययन गरेको विषय भन्दा फरक पाटोमा पाइला अगाडि बढाइन् । मिस तामाङ २०१२को ताज पहिरिएसंगै नेपाली मनोरंजन क्षेत्रमा प्रवेश गरेकी उनले म्युजीक भिडियो हुँदै फिल्म झ्यानाकुटीबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् ।

भविष्यमा फिल्म निर्देशनमा होमिने योजना समेत बनाएकी सुमी अभिनित फिल्म ‘सरौतो’ यही आउँदो कार्तिक २२ गते बाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal