‘सरौतो’को दोश्रो गीत ‘केही आधा’ सार्वजनिक



फिल्म ‘सरौतो’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘केही आधा’ बोलको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार सुमी मोक्तान र सन्नी सिंह फिचर्ड छन् । पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर रहेको गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । भिडियोमा कोरियोग्राफी र छायाँकन निर्देशक हरी हुमागाईंको रहेको छ ।

गीतलाई १४ दिन लगाएर नेपालको हरेक प्रदेशमा छायाँकन गरिएको छ । गीतलाई बन्दीपुर, पोखरा, धम्पुस, मुस्ताङ, लुम्बिनी, सौराहा, जनकपुरमा छायाँकन गरिएको हो । गीतले नेपाल सरकारको अभियान भिजिट २०२० लाई पनि सहयोग गर्ने विश्वास फिल्म युनिटले ब्यक्त गरको छ ।

फिल्ममा सुमी र सन्नीसँगै लियो ट्यांक, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

हरी हुमागाईंको डेब्यु निर्देशन रहेको फिल्ममा बदलाको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको द्वन्द रहेको छ ।

राजन राज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको फिल्ममा राजन, पुष्पन र कमलसँगै मिलन अमात्य, श्रेया सोताङले स्वर दिएका छन् । फिल्म कार्तिक २२ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal