के चैत्र २८ मा हुँदैछ प्रदीप र अनमोलको भिडन्त ?



साम्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘धुपौरे’मा नायक अनमोल केसी अनुबन्धित भएका छन् । रुपेन्द्र खड्गी प्रस्तुतकर्ता रहेको धुपौरोलाई जयन श्रेष्ठले निर्माण गर्नेछन् भने फिल्मको छायांकन मंसिर पहिलो साताबाट सुरु हुने बताइएको छ । फिल्मका लागि अनमोल फाइनल भएता पनि हिरोइन भने अडिसन गरेर नै छनौट गरिने बुझिएको छ । फिल्म एजेएस इन्टरटेनमेन्ट र फिल्मस् नेपाल प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको हो ।

यसैबिच भ्याली भित्र फिल्मको वितरण जिम्मा ८० लाख एमजीमा रिच इन्टरटेनमेन्टका करण श्रेष्ठले लिएका छन् । करणले फिल्म मांसिरबाट छायांकनमा जाने र नयाँ बर्षको छेको पारेर चैत्र अन्तिममा प्रदर्शनमा ल्याउने सम्भावना रहेको इन्ट्रो नेपाललाई बताएका छन् । वितरण सम्झौता भएसंगै वितरक श्रेष्ठले फिल्म प्रदर्शनका लागि चैत्र अन्तिम नै उपयुक्त हुने भन्दै चैत्र २८ मा प्रदर्शनमा ल्याउने मनसाय ब्यक्त गरेका छन् । करणको कुरालाई सत्य मान्ने हो भने धुपौरे प्रदर्शनका लागि उनले चैत्र २८ लाई नै टार्गेट गरेको मान्न सकिन्छ ।

यही मिती (चैत्र २८)मा नायक प्रदीप खड्काको मुख्य भूमिका रहने फिल्म ‘प्रेम गीत ३’ प्रदर्शनमा ल्याउने घोषणा यसका निर्माता तथा निर्देशक सन्तोष सेनले गरिसकेका छन् । हाल फिल्मको प्रि-प्रोडक्सनमा ब्यस्त रहेका सेनले फिल्मका लागी राजधानी र मनाङमा सेट निर्माण गरिरहेका छन् । फिल्म प्रेम गीत ३ दुई बर्ष पुरानो प्रेम कथामा आधारित रहने बताइएको छ । फिल्मको छायांकन मंसिर अन्तिम वा पौष पहिलो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिम लागेको बुझिएको छ । सेनले फिल्मको औपचारिक घोषणा नगरेको भएता पनि प्रदर्शन मिती चैत्र २८ यसअघी नै घोषणा गरेका हुन् ।

यदी बिग बजेट र मल्टिस्टारर फिल्म ‘प्रेम गीत ३’ को रिलिज मितीमै अनमोल स्टारर आर्ट बेशको फिल्म ‘धुपौरे’ प्रदर्शनमा आए फिल्म क्षेत्रका पछिल्लो समय लिडिङ युवा स्टार मानिएका प्रदीप र अनमोलको स्टारडमको समेत भिडन्त देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal