‘कबड्डी कबड्डी कबड्डी’को बम्पर सुरुवात

असोज ३ गते शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म कबड्डी कबड्डी कबड्डीले बम्पर सुरुवात गरेको छ । प्रदर्शनको पहिलो दिन देशभर हाउसफुल भएको फिल्मको शनिबारका सोहरु समेत हाउसफुल छन् ।
बहुप्रतिक्षित यस फिल्मले बम्पर सुरुवात मात्र गरेको छैन ओपनिङ डे कलेक्सनमा समेत रेकर्ड राखेको छ । सम्भवत कबड्डी कबड्डी कबड्डी पहिलो दिनमा सर्वाधिक कलेक्सन गर्न सफल फिल्म बनेको छ । फिल्मले शुक्रबार मात्रै १ करोड ४७ लाख कलेक्सन गर्न सफल भएको छ । पहिलो दिनको आँकडालाई नियाल्ने हो भने दोश्रो दिन शनिवार फिल्मको कलेक्सन अझै बढ्ने देखिन्छ ।
फिल्मले बलियो माउथ पब्लिसिटी पाएको छ । पछिल्लो केही समय यता कुनै पनि नेपाली फिल्मले हलमा जादु गर्न नसकेको अवस्थामा कबड्डी कबड्डी कबड्डीले राहत दिएको छ ।

शनिबार बिहान दर्शकको प्रतिकृया बुझ्न चावहिल स्थित गोपी कृष्ण हल पुगेका फिल्मका टिमलाई दर्शकले फिल्म उत्कृष्ट बनेको प्रतिकृया दिए । गोपी कृष्णकै प्रांगणमा फिल्मको टिमले फिल्मकी नायिका उपासना सिंह ठकुरीको जन्मदिनको केक समेत दर्शकहरुको उपस्थितीमा काटेको थियो ।

रामबाबु गुरुङ निर्देशित यस फिल्ममा दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा, विल्सन विक्रम राई, वुद्दि तामाङ, बिजय बराल, माओत्से गुरुङ, लुनिभा तुलाधर, कमल मणि नेपाल, अरुणा कार्की पोखरेल, रिस्मा गुरुङ, पुस्कर गुरुङ, कबिता आले, डक्टर सिंह गुरुङ, शिला खनाल, मणि के.राई लगायतको अभिनय रहेको छ ।

सिनेमा आर्ट प्रालिको प्रस्तुतिमा बासुरी फिल्मस्को निर्माण तथा माउन्टेन स्टोरिजको सहकार्य रहेको फिल्ममा रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन, शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठ र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ । फिल्मलाई मणिराम पोखरेल, अर्जुन कार्की, ओम चन्द रौनियारले संयुक्त रुपमा निर्माण गरेका हुन् ।