द्वन्द निर्देशक अष्ट महर्जनको द्वन्द बिनाको फिल्म ‘गुञ्जन’



द्वन्द निर्देशक अष्ट महर्जनले फिल्म ‘गुञ्जन’बाट फिल्म निर्देशनमा डेब्यु गरेका छन् । हाल पोखरामा सुटिङ भइरहेको फिल्मको लगभग ३५ प्रतिशत सुटिङ सकिएको छ । लगातारको बर्षाले गर्दा सुटिङमा समस्या भइरहेको अष्टले बताए । नायिका सारा शिर्पाइली, नायक कबिर खड्का र नव- नायक प्रितम सेञ्चुरी, कलाकार सरोज खनाल र हिउवाला गौतमको मुख्य भूमिकामा रहेको फिल्म पूर्णतया प्रेम कथामा आधारित रहेको छ । फिल्ममा कञ्चन चालिसे, इभा श्रेष्ठ, निरुता स्याङ्तान, सुष्मिता बराल लगायतको समेत अभिनय रहेको छ ।

रमाइलो कुरा त के छ भने द्वन्द निर्देशकको रुपमा फिल्म क्षेत्रमा छुट्टै पहिचान स्थापित गराउन सफल अष्टले आफ्नै फिल्ममा भने कुनै पनि द्वन्दका सिन नरहेको बताएका छन् । फिल्ममा द्वन्द समावेश नगर्नुको कारणका बारेमा बोल्दै अष्टले भने,’फिल्ममा द्वन्द हुनैपर्छ भन्ने छैन । फरक तरिकाबाट द्वन्द देखाउने कोशिस यो फिल्ममा गरेको छु’, उनले भने ‘द्वन्द निर्देशन करियरलाई नै दाउमा राखेर मैले निर्देशनमा हात हालेको छु त्यो पनि प्रेम कथामा आधारित फिल्म मार्फत । धेरैको अपेक्षा थियो होला मैले एक्सन प्रदान फिल्म निर्देशन गर्छु भन्ने तर त्यसको अपोजिटमा गएर मैले जोखिम मोलेको छु ।’

महेश दवाडीको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कल्याण घिमिरेको संगीत, राजेश श्रेष्ठको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्मको अधिकांश छायांकन पोखरमा हुनेछ भने केही काठमाडौंमा समेत हुनेछ । ए.एच इन्टरटेनमेन्ट प्रा.ली.को ब्यानरमा हिरा कृष्ण शाहीको प्रस्तुती रहेको फिल्ममा हिरा कृष्ण स्वयम र सुनिता शाहीको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal