तेलगु फिल्ममा पारमिताको डेब्यु, गोपी चन्दसंग स्क्रिन सेयर गर्दै



नायिका पारमिता आर एल राणाले तेलगु फिल्ममा डेब्यु गर्ने भएकी छिन् । उनले चर्चित तेलगु फिल्म अभिनेता गोपी चन्दसंग स्क्रिन सेयर गर्न लागेकी हुन् । श्री वैंकटेश्वर सिने चित्र एलएलसीको ब्यानरमा निर्माण हुन लागेको नयाँ फिल्ममा पारमिता मुख्य फिमेल लिडको रुपमा रहनेछिन् । फिल्मको शुभ मुहूर्त संगै छायांकन सुरु भएको छ । फिल्मको नाम भने खुलाइएको छैन ।

उनले सामाजिक संजाल फेसबुकमा स्टाटस पोस्ट गर्दै आफुले अडिसन दिएर फिल्मको लागि छनौट भएको बताएकी छिन् । स्टाटसको अन्त्यमा उनले ‘म नेपाललाई साँच्चै गौरवान्वित बनाउने छु’, भनेकी छिन् ।

‘चपली हाइट २’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी नायिका राणाले त्यसयता रोज, चङ्गा चेट, द म्यान फ्रम काठमाडौँ, द कर्मा लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् । उनको अभिनय रहेका फिल्मले उती व्यवसायिक सफलता हाँसिल गर्न नसकेता पनि उनको अभिनयको तारिफ भने हुने गरेको छ । मोडलिङ हुँदै नेपाली फिल्ममा होमिएकी पारमिताको तेलगु फिल्म यात्रा कस्तो हुनेछ त्यो भने फिल्म प्रदर्शनमा आएपश्चात थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal