उपभोक्ता अधिकारका पक्षमा कलम चलाउने शाह सम्मानित



उपभोक्ता अधिकारको पक्षमा निरन्तर कलम चलाउँदै आएका पत्रकार उज्वलजंग शाह सम्मानित भएका छन् । उपभोक्ता हितमा कर्पोरेट पत्रिकाका सम्पादक रहेका उनको अतुलनीय योगदानको सम्मान गर्दै राष्ट्रिय उपभोक्ता मञ्चले सम्मान गरेको हो ।

‘सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उपभोक्ता हकहित र उनीहरुको अधिकार सुनिश्चितका लागि योगदान पुर्याएबापत उहाँलाई सम्मान गरिएको हो,’ संस्थाका अध्यक्ष प्रेमलाल महर्जनले सम्मानका क्रममा भने । उनलाई संघीय संसदको प्रतिनिधी सभा अन्तर्गतको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता समितिका अध्यक्ष विमल प्रसाद श्रीवास्तवले शाहलगायत उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने ब्यक्तीहरुलाई सम्मान गरेका हुन् ।

विगत २५ वर्षदेखि पत्रकारिता क्षेत्रमा सक्रिय शाहले आर्थिक पत्रकारितालाई मूल विधा बनाएर समाचार लेखिरहेका छन् । उक्त सन्दर्भमा उनले उपभोक्ता हितलाई प्राथमिकता दिँदै आएका छन् । स्नातकोत्तरसम्मको अध्ययन गरेका शाहले २०५९ सालमा संवाददाताका रुपमा दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

त्यसपछि अटो नेपाल म्यागजिनको प्रधानसम्पादक र दृष्टि साप्ताहिकको म्यानेजिङ डाइरेक्टरका रुपमा भूमिका निर्वाह गरिसकेका छन् । विगत दश वर्षदेखि कर्पोरेट म्यागजिनको प्रकाशक र सम्पादकका रुपमा उनले काम गरिरहेका छन् । उनी अटो पत्रकारसंघको सभापति, सञ्चार सहकारीको अध्यक्ष, प्रतिज्ञा ट्रेड लिंकको निर्देशक, इश्वरलाल प्रतिष्ठानको महासचिव र फेसियल हाउसको निर्देशकका रुपमा समेत काम गरिरहेका छन् ।

उनले उपभोक्तालाई मध्यनजर गरेर विभिन्न विषयमा कलम चलाएका छन् । ती विषयले नीति निर्मातालाई झकझकाउने गर्छ । जसका कारण उपभोक्ताले सहुलियत पाउने गरेका छन् । उनको यही स्वभावको कदर गर्दै मञ्चले सम्मान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal