फ्राइडे रिलिजमा ‘पासवर्ड’ र ‘हिरो नं. १’



भाद्र २७ गते शुक्रवारबाट दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन् ‘पासवर्ड’ र हिरो नं. १ ।

मुर्ति चोरी र त्यसको खोजको कथा समेटिएको ‘पासवर्ड’मा अनुपविक्रम शाही, विक्रम जोशी, वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा, धिरेन शाक्य, लिजा सुनार, परि राना, छुल्ठिम गुरुङ लगायतको अभिनय मुख्य भूमिका रहेको छ । फिल्मको एक गीतमा बलिउड नायिका सन्नी लियोनीले नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेलको संगीत, सम्राट बस्नेतको एक्सन, अमरजीत सिंहको छायांकन, सौरभ लामाको डीओपी रहेको छ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । सिमा गुरुङको कथा रहेको फिल्ममा महेश दवाडी र सम्राट बस्नेतको पटकथा रहेको छ । अंकित गौतम कार्यकारी निर्माता रहेको फिल्म अमित बस्नेत र हिराल जोशीले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

त्यस्तै शुक्रवार बाटै नायक जय किशन बस्नेतको निर्देशन रहेको फिल्म ‘हिरो नं. १’ पनि प्रदर्शनमा आएको छ । जय किशन बस्नेत फिल्मस् प्रा।लि।को ब्यानरमा निर्माण भएको यस फिल्ममा जय किशन बस्नेत, एलिना रायमाझी, जाहान्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन र सुदिप पाण्डेको सम्पादन रहेको छ ।मदन ताम्राकार कार्यकारी निर्माता रहेको फिल्ममा बिक्रम माङ्मु र बिशाल गुप्ता सह-निर्माताको रुपमा रहेका छन् । फिल्म समसामयिक कथावस्तुमा आधारित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal