आफु पढेको विद्यालयमा जोगिन्दरले गरे स्यानेटरी प्याड वितरणसंगै आर्थिक सहयोग



पछिल्लो समय नेपाली कलाकारहरु सामाजिक कार्यमा निकै सकृय हुन थालेका छन् । विभिन्न संघ, संस्था तथा फाउण्डेसन मार्फत कलाकारहरु सामाजिक कार्यमा सहभागी हुने क्रम बढेको छ । त्यसै क्रममा हाँस्य कलाकार शिवशंकर रिजालले आफुले अध्ययन गरेको विद्यालयलाई सहयोग गरेका छन् । वास्तविक नाम भन्दा पनि ‘जोगिन्दर पानवाला’को नामले परिचित उनी कलाकारितासँगै समाज सेवामा पनि सक्रिय छन् । उनले गत मंगलबार आफूले अध्ययन गरेको विद्यालयका छात्राहरुलाई स्यानेटरी प्याड तथा शैक्षिक सामग्री वितरण गरेका छन् ।

बरहथवा नगरपालिकास्थित सरस्वती उमाविमा आयोजित कार्यक्रममा रिजालले कक्षा ८, ९ र १० का छात्राहरुलाई महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड वितरण गरेका हुन् । ‘महिनावारी हुँदा अधिकांश छात्रा विद्यालय नआउने गरेको थाहा पाए तर उनीहरुले शिक्षित हुने अधिकार उनीहरुसँग छ’ रिजाल भन्छन् ‘एक दातृसंस्थाबाट पाएको स्यानेटरी प्याडसँगै मैले सकेको सहयोग गरेको हुँ ।’ उनले सोही विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेनदार दुईजना छात्र र छात्रालाई छात्रवृत्ति उपलब्ध गराउन आर्थिक सहयोग समेत गरेका छन् ।

कार्यक्रममा कलाकार रिजालले आफ्ना बुबाआमाको नाममा रहेको जगत कृष्णमाया रिजाल फाउन्डेसनको तर्फबाट एक लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापनाका लागि विद्यालयका प्रधानाध्यापक भरत महतोलाई चेक प्रदान गरेका थिए । साथै, उनले विद्यार्थीहरुलाई ४० हजार रुपैयाँबराबरका कापीकलमसमेत वितरण गरे । ‘जहाँबाट मैले ज्ञान पाए र आज यो स्थानमा छु त्यो मन्दिरलाई सहयोग गर्न पाउँदा निकै उत्साहित छु’ उनले भने ।

त्यस्तै कक्षा ५ सम्म उनले अध्ययन गरेको पिपरभित्तास्थित जनता आधारभूत विद्यालयलाई समेत विपन्न एवं जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न फाउन्डेसनकै नामबाट ५१ हजार रुपैयाँ प्रदान गरेका छन् । रिजालले सो विद्यालयका विद्यार्थीहरुलाई पनि कापीकलम प्रदान गरेका थिए । तीन लाख रुपैयाँबराबरको स्यानेटरी प्याड तथा दुईवटा विद्यालयमा एक लाख रुपैयाँबराबरका कापीकलम प्रदान गरिएको र एक लाख ६२ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका रिजालले स्थानित विधार्थी र शिक्षकबाट धन्यवाद पाए ।

आफ्नै स्कुलबाट पढेर राष्ट्रको गहना बनेर सहयोगीको रुपमा शिव शंकर रिजाललाई पाउँदा शिक्षक खुसि देखिन्थे । ‘हामी कहाँबाट शिक्षित भएर गएका विधार्थीले जब आफ्नो पहिचान बनाएर हामीलाई नै सहयोग गर्न आउँछन्, त्यो क्षण हाम्रो लागि गौरव र खुसिको क्षण हो’ प्रधानाध्यापक महतोले धन्यवाद दिँदै भने । रिजाल सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत पिपरिभित्तानिवासी हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal