उमेर बढ्दै जाँदा लोभ बढ्दो रहेछ – अभिनेत्री केकी अधिकारी



अभिनेत्री केकी अधिकारीले बक्स अफिसमा सुपर हिट फिल्म दिन सकेकी छैनन् । तर पनि उनको हात खाली भने छैन । जिवन्त अभिनयमा माहिर केकीले फुर्सदमा बस्नु परेको छैन । उनको व्यस्तता कुनै चल्तीकी नायिकाको भन्दा कम छैन । उनी आफैँले गत बर्ष फिल्म ‘कोहलपुर एक्प्रेस’ निर्माण समेत गरिन् । यद्यपी उनको फिल्मले बक्स अफिसमा खासै कमाल गर्न भने सकेन ।

पछिल्लो समय उनले अभिनय गरेको फिल्म ‘छ माया छपक्कै’ असोज २४ गते देखी प्रदर्शनमा आउँदै छ । यस फिल्मबाट उनको करियर उकासिने अनुमान धेरैको छ । यो फिल्म प्रदर्शनको तरखरमा रहँदा उनी फिल्म ‘सेल्फी किंग’मा अनुबन्धित भएकी छिन् । यस फिल्ममा उनी विशेष भूमिकामा देखा पर्दै छिन् । यही फिल्मको औपचारिक घोषणा कार्यक्रममा उनले ‘उमेर बढ्दै जाँदा लोभ बढ्दो रहेछ’ भन्ने अभिव्यक्ति दिएकी हुन् ।

पछिल्लो केही समय यता उनले ‘लोभ’ भन्ने शब्दको उच्चारण धेरै नै गर्न थालेकी छिन् । हाल प्रदर्शनरत फिल्म ‘मारुनी’को विशेष शोमा सहभागी भएकी उनले फिल्ममा नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहले निभाएको क्यारेक्टर आफुलाई निकै मन परेको भन्दै उक्त क्यारेक्टर प्रति लोभ पलाएको बताएकी थिइन् । उनले सेल्फी किंगको घोषणा कार्यक्रममा पनि सोही शब्द दोहोर्याइन् । केकीले निर्देशक तथा निर्माता दिनेश राउत र आफु संगसंगै फिल्म क्षेत्रमा हुर्किएको स्मरण गर्दै राउतको फिल्मले पाएको सफलता देख्दा कतै कतै आफुमा लोभ पलाउने गरेको बताएकी हुन् ।

सोही प्रसङ्गमा, ‘पछिल्लो समय लोभ भन्ने शब्द धेरै उच्चारण गर्न थाल्नु भएको छ नि ? भन्ने एक पत्रकारको जिज्ञाशामा उनले भनिन्, ‘उमेर बढ्दै जाँदा लोभ बढ्दो रहेछ’ । लोभ चाहिँ के को भन्ने प्रतिप्रश्नमा उनले भनिन्, ‘काम कै लोभ हो । अरु त के को लोभ लाग्नु सबै चिज नाशवान छन्, केही लिएर जाने होइन । तर, काम र नाम भने सधैँ रहिरहन्छ । त्यसैले मलाई त्यही कामको लोभ लागेको हो ।’

प्रतिक्रिया दिनुहोस्
© 2019 Intro Nepal