‘सेल्फि किंग’ निर्माण घोषणा



फिल्म ‘सेल्फि किंग’ निर्माण घोषणा भएको छ । काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी फिल्म निर्माणको घोषणा गरिएको हो ।

गत वर्ष व्यवसायिक र समिक्षात्मक दुबै रुपमा सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र सोही फिल्मका निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गर्न लागेको फिल्मलाई बिशाल सापकोटाले निर्देशन गर्नेछन् । अमेरिकाको लस एन्जलस सिटी कलेजमा फिल्म निर्देशन अध्ययन गरेका सापकोटाको यो डेव्यु फिल्म हो ।


फिल्ममा अभिनेता विपिन कार्की, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहने छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गर्नेछिन् ।

कार्यक्रममा बोल्दै निर्देशक सापकोटाले एउटा हाँस्यकलाकारको कथालाई आफुले फिल्ममा उतार्न लागेको बताएका छन् । के यो कुनै हाँस्यकलाकारको बायोपिक हो भन्ने प्रश्नमा उनले यो हरेक कलाकारको बायोपिक हुन सक्ने बताए ।


यस्तै निर्देशनबाट निर्माणमा आएका दिनेश राउतले निर्देशक सापकोटाले सुनाएको कन्सेप्ट आफुलाई मन परेको र उनको ट्यालेण्टलाई विश्वास गरेर टिमअप गरेको बताएका छन् । नयाँ निर्देशकलाई लिएर फिल्म निर्माण गर्नुको कारणबारे उनले भने – ‘यो प्रतिभा भएर पनि प्लेटफर्म नपाएका व्यक्तिहरुका लागि ढोका खोलिएको हो ।’


यस्तै निर्माता सुभाष थापाले आफुले सधैं टिममा विश्वास गर्ने गरेको भन्दै यसपटक पनि अर्का निर्माता राउत र निर्देशक सापकोटालाई बिश्वास गरेको बताए । उनले आफुले यसअघि पनि राउतलाई बिश्वास गरेर प्रसाद बनाएको र यसपटक पनि निर्माणमा सहकार्य गरेको बताएका छन् ।
फिल्ममा बिपिन कार्कीको शिर्ष भुमिका रहनेछ । बिपिनले सेल्फि किंगको भूमिका निर्वाहा गर्नेछन् । हाँस्यकलाकारको जीवनको कथा भन्ने फिल्म भएकोले पनि आफुले फिल्मको कथा सुन्ने बित्तिकै काम गर्न उत्साहित भएको उनले बताए । उनले निर्देशक सापकोटाको प्रसंसा गर्दै भने – ‘उहाँ नयाँ भए पनि नयाँ जस्तो लागेन । फिल्म बुझेको र उत्कृष्ट काम गर्न सक्ने निर्देशशका रुपमा पाएको छु ।’


यस्तै नायिका लक्ष्मी बर्देवाले पनि आफु यसको कथा सुन्दा नै काम गर्न निकै उत्साहित भएको बताइन् । यस्तै अभिनेत्री केकी अधिकारीले आफ्नो भुमिका छोटो भएपनि बिशेष रहेको बताएकी छिन । बिशाल र केकीले यसअघि दिनेश राउतको डेव्यु निर्देशन रहेको फिल्म ‘आइएम सरी’मा कलाकारको रुपमा सँगै काम गरेका थिए । केकीले सोही समयदेखि बिशाललाई फिल्ममा केही गर्न सक्ने व्यक्तिको रुपमा आफुले पाएको बताइन् ।


निर्देशक सापकोटाको लेखन रहेको फिल्ममा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द, अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी रहनेछ । भाद्र २४ गते मंगलबार बाट छायाँकनमा जाने फिल्मका सह निर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal