दाइजो नपाएको निहुँमा श्रीमतीको हत्या

रौतहटको राजपुर नगरपालिका- ७ अकोलवामा मोटरसाइकल दाइजो नदिएको निहुँमा २५ वर्षीया सन्जु देवी नाम गरेकी महिलाको हत्या भएको छ ।
मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे ।
सन्जुको बिहेमा केटा पक्षको माग बमोजिम सकेजति दाइजो दिएको तर केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि जेठा ज्वाइँ रामबाबुले अनावश्यक रुपमा मोटरसाइकल माग गर्दै छोरीलाई मानसिक र शारीरिक यातना दिने गरेको उनले बताए ।बिहीबार दिउँसो सन्जुको मृत्यु भएको खबर पाएपछि आफूहरुले त्यहाँ गएर हेर्दा छोरीको घाँटीमा डाम देखिएकाले यो हत्या नै भएको उनले दाबी गरे ।
केही दिनअघि आफूले छोरीलाई भेट्न जाँदा सन्जुले श्रीमान र ससुराली पक्षले आफूलाई यातना दिने र दाइजो मागेर ल्याउन दबाव दिने गरेको कुरा आफूलाई जानकारी गराएको पिता सहनीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धानका लागि मृतकको श्रीमान रामबाबु सहनी र ससुरा मोहन सहनीलाई पक्राउ गरेको प्रहरीले बताए । घटना शंकास्पद रहेकाले उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको र पोष्टमार्टम पश्चात शव परिवारजनलाई जिम्मा लगाइएको प्रहरीले बताएको छ ।