मेलम्ची आयोजनामा झडप, हवाई फायरका साथै अश्रुग्यास प्रहार



सिन्धुपाल्चोकस्थित मेलम्ची खानेपानी आयोजनस्थलमा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । मेलम्चीको अम्बास्थानमा आन्दोलनकारीले प्रदर्शन गर्दै आयोजनास्थल प्रवेश गर्न लागेपछि प्रहरीले रोक्ने क्रममा झडप भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डिएसपी माधव काफ्लेले जानकारी दिए ।

आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् । त्यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर र ६ राउण्ड अश्रु ग्यास अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधान लगायतमा आक्रमण गर्दै क्षति पुर्याउन थालेकाले स्थितिलाई नियन्त्रणमा लिन बल प्रयोग गरेको दावी गरेको छ ।

मेलम्ची आयोजनाको निर्माण कम्पनी सिएमसीले स्थानीय सप्लायर्स, कामदारको ज्याला,लोकल कन्ट्रयाक्टर्सको भुक्तानी नदिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले यसै आर्थिक वर्षमा काम सक्ने लक्ष्यका साथ चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोलाई जिम्मा दिएको छ ।

भुक्तानी नपाएकाहरुले मेलम्ची खानेपानी आयोजना पीडित सङघर्ष समिति नै बनाएर आयोजना छाडेको निर्माण कम्पनी सीएमसीले दिनुपर्ने रकम भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेर आन्दोलन थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal